विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले देशप्रतिको प्रेम र समर्पणकै कारण आफू राजनीति र सरकारको जिम्मेवारीसम्म आइपुगेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै मन्त्री पुनले आफू सांसद वा मन्त्री बन्ने सोचमा नभएको तर देशप्रतिको पिरतीले नै यहाँसम्म ल्याएको बताए।
आफ्नो भनाइलाई रोचक बनाउँदै उनले पुरानो चर्चित गीत ‘म त यस्तो होइन दाइ, पिरतीले जोगी बनायो’ को स्मरण गरे। उनले नयाँ पुस्ताले उक्त गीत नसुनेको हुन सक्ने उल्लेख गर्दै पुराना पुस्ताका लागि भने त्यो निकै लोकप्रिय गीत भएको बताए।
“म त सांसद र मन्त्री हुने मान्छे नै होइन,” उनले भने, “तर मलाई पिरतीले सांसद र मन्त्री बनायो। पिरतीले नै जोगी बनायो। मेरो पिरती खासगरी देशसँग बसेको हो।”
पुनले आफू अमेरिका बसाइका क्रममा केही वर्षका लागि घुम्न नेपाल आएको स्मरण गर्दै गाउँसँगको लगावबाट सुरु भएको सम्बन्ध विस्तारै जिल्ला हुँदै देशप्रतिको प्रेममा रूपान्तरित भएको बताए।
“म अमेरिकाबाट दुई–चार वर्षका लागि घुम्न आएको मान्छे थिएँ। गाउँसँग पिरती बस्यो, गाउँसँग बस्दाबस्दै जिल्लासँग बस्यो, जिल्लाबाट अरू जिल्लासँग हुँदै देशसँग पिरती बस्यो। त्यसैले अहिले म जोगी भएँ, पक्का जोगी हो म,” उनले भने।
सदनलाई आफूले सबैभन्दा मन पराउने ‘कक्षा’को संज्ञा दिँदै मन्त्री पुनले मन्त्री बनेपछि नियमित रूपमा संसद बैठकमा उपस्थित हुन नपाएको गुनासो पनि गरे।
“मेरो सबैभन्दा प्रिय र मनपर्ने क्लास यही सदन हो। तर मन्त्री भएपछि बेलाबेला यो कक्षा छोड्नुपर्ने भएको छ,” उनले भने, “त्यसका लागि म माफी पनि चाहन्छु।”
देश विकास र नवप्रवर्तनका क्षेत्रमा लामो समयदेखि सक्रिय पुनको उक्त अभिव्यक्तिले संसदमा उपस्थित सांसदहरूको ध्यान आकर्षित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्