Ads

चलचित्र उद्योगलाई अर्थतन्त्रसँग जोड्न राष्ट्रपतिको आह्वान


राष्ट्रपति रामचन्द्र पौडेल ले नेपाली चलचित्र उद्योगले मनोरञ्जनका साथै देशको आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताएका छन्।

शुक्रबार शीतल निवासमा चलचित्र विकास बोर्ड द्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले चलचित्र क्षेत्रलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औँल्याए।

उनले चलचित्रकर्मीलाई आधुनिक प्रविधिसँग अद्यावधिक रहँदै अध्ययन, अनुसन्धान र सिर्जनात्मकतालाई निरन्तरता दिन सुझाव दिए। चलचित्र केवल मनोरञ्जनको माध्यम मात्र नभई नागरिकमा चेतना, जागरण, रूपान्तरण र राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्ने प्रभावकारी साधन भएको उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले नेपाली चलचित्रले देशको मौलिक भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै बदलिँदो समयअनुसार नीति, कानुन, सुविधा तथा सहुलियतमार्फत संस्थागत सुधार गर्न आवश्यक रहेको बताए। चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्‍याउन राज्य र सरोकारवाला निकायले कुनै कसर बाँकी राख्न नहुने उनको धारणा थियो।

कार्यक्रममा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सम्मानित भएका थिए। साथै चलचित्र तथा कला क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको थियो।

Ads

सम्बन्धित पोष्टहरू