Ads

तिलिचो तालमा पहिलो भक्तियात्रा सम्पन्न, ‘मिनी कैलाश’का रूपमा विकास गर्ने अभियान


नेपालको सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध तिलिचो तालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित पहिलो तिलिचो ताल भक्तियात्रा एक सयभन्दा बढी भक्तजनको सहभागितासहित सम्पन्न भएको छ।

स्वामी ऋषि प्रपन्नाचार्यको सङ्कल्पमा आयोजित यात्रामा ५० जना पण्डितसहित नेपाल तथा विदेशबाट आएका एक सयभन्दा बढी धर्मावलम्बी सहभागी भएका थिए। विश्वभरका हिन्दु धर्मावलम्बीले जीवनमा एकपटक पुग्नैपर्ने आध्यात्मिक गन्तव्यका रूपमा तिलिचोलाई स्थापित गर्ने उद्देश्यसहित यो यात्रा आयोजना गरिएको हो।

भक्तियात्रा शुक्रबार म्याग्दीको गलेश्वरधामबाट सुरु भई मुस्ताङको कागबेनी र मुक्तिनाथ हुँदै शनिबार बिहान तिलिचो ताल पुगेको थियो। ताल परिसरमा विशेष पूजाआजा, धार्मिक अनुष्ठान तथा वैदिक कार्यक्रम सम्पन्न भएपछि आइतबार यात्राको औपचारिक समापन गरिएको संयोजक गुरु ईश्वर रेग्मीले जानकारी दिए।

समुद्री सतहबाट करिब ४,९१९ मिटरको उचाइमा रहेको तिलिचो तालसम्म पुग्न मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँबाट भ्रप्सोसम्म सडक सञ्जाल विस्तार भइसकेको छ। त्यसपछि पैदल मार्ग हुँदै करिब ७ देखि १० घण्टाको यात्रा गरेर भक्तजन तालसम्म पुगेका थिए।

यात्राको नेतृत्व गरेका स्वामी ऋषि प्रपन्नाचार्यले तिलिचो केवल प्राकृतिक सौन्दर्यको केन्द्र मात्र नभई गहिरो आध्यात्मिक महत्व बोकेको तीर्थस्थल भएको बताए। उनले तिलिचोलाई ‘मिनी कैलाश’का रूपमा विकास गर्ने लक्ष्यसहित आगामी वर्षहरूमा पनि नियमित भक्तियात्रा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए।

“भगवान् शिवले स्वयं कैलाशभन्दा पनि सुन्दर स्थानका रूपमा प्रशंसा गरेको तिलिचोमा यसअघि धार्मिक यात्रा भएको थिएन। अब प्रत्येक वर्ष भक्तियात्रा सञ्चालन गर्ने सोच बनाएका छौं,” उनले भने।
निलगिरी हिमालको काखमा रहेको तिलिचो तालमा पुगेको टोलीले श्रीमद्वाल्मीकिय रामायण पाठ, हरिसंकीर्तन, सुदर्शन हवन तथा तीर्थपूजनलगायत धार्मिक अनुष्ठान सम्पन्न गरेको पण्डित बालकृष्ण सुबेदीले बताए। यात्रामा १६ वर्षदेखि ७५ वर्षसम्मका भक्तजन सहभागी थिए।

धार्मिक मान्यताअनुसार भगवान् शिवले तिलिचो क्षेत्रमा तपस्या गरेको तथा कागभुशुण्डि ऋषिले यहाँ ज्ञान प्राप्त गरेको किंवदन्ती रहेको छ। हिन्दु धर्मसँगै बौद्ध धर्मावलम्बीका लागि पनि आध्यात्मिक महत्व बोकेको यो क्षेत्रलाई धार्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ।

मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनका अनुसार मुक्तिनाथ, कागबेनी र दामोदर कुण्ड दर्शनका लागि आउने भारतसहित विभिन्न मुलुकका धार्मिक पर्यटकलाई तिलिचोसम्म आकर्षित गर्न यस्तो भक्तियात्राले महत्वपूर्ण भूमिका खेल्नेछ।

हाल तिलिचो ताल पदयात्राका लागि स्वदेशी तथा विदेशी पर्यटकमाझ लोकप्रिय गन्तव्य बनेको छ। भक्तियात्राको सुरुवातसँगै यस क्षेत्रलाई धार्मिक तथा आध्यात्मिक पर्यटनको नयाँ केन्द्रका रूपमा स्थापित गर्ने प्रयासले थप गति लिएको छ।

Ads

सम्बन्धित पोष्टहरू