चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
रास्वपा नेता मनीष झाका अनुसार बुधबार साँझ ५ बजेसम्म दाबी–विरोधका लागि समय दिइएकाले उम्मेदवारको अन्तिम संख्या केही फेरबदल हुन सक्नेछ।
महाधिवेशनमा सहभागी करिब ४ हजार १ सय प्रतिनिधिले ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान गर्नेछन्। केन्द्रीय निर्वाचन आयोगले बुधबार साँझ साढे ७ बजेसम्म मतदान प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ।
झाका अनुसार ७५ वटा इभिएम (इलेक्ट्रोनिक मतदान मेसिन) प्रयोग गरिने भएकाले मतदान करिब ४ घण्टाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। मध्यरातसम्म मतदान सकिएपछि मतगणना सुरु गरी करिब दुई घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ।
रास्वपाको विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचित हुनेछन् भने ५१ जना सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ।
महाधिवेशनले सभापति पदमा रवि लामिछानेलाई यसअघि नै निर्विरोध चयन गरिसकेको छ। बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि भने निर्वाचन हुने भएको छ।
रास्वपामा कुल १९ जना पदाधिकारी रहने व्यवस्था छ। जसअन्तर्गत १ सभापति, १ वरिष्ठ नेता, ३ उपसभापति (कम्तीमा एक महिला), २ महामन्त्री, ५ सहमहामन्त्री (कम्तीमा एक महिला), १ प्रवक्ता, ३ सहप्रवक्ता (कम्तीमा एक महिला), १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष रहनेछन्।
प्रतिक्रिया दिनुहोस्