राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ ले पार्टीको आन्तरिक निर्वाचन सञ्चालन गर्ने निर्वाचन आयोग र मुलुकको निर्वाचन गराउने संवैधानिक आयोग फरक–फरक हुने विषयमा आफूलाई जानकारी नभएको स्वीकार गर्दै त्यसलाई लिएर अनावश्यक आलोचना नगर्न आग्रह गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै तामाङले रास्वपाको प्रथम महाधिवेशनका क्रममा भएको निर्वाचनलाई सुरुमा राष्ट्रिय निर्वाचनसरह ठानेको बताएकी छन्। उनले पार्टीभित्र छुट्टै निर्वाचन आयोग रहने विषयमा आफू अनभिज्ञ रहेको स्वीकार गरेकी हुन्।
उनले लेखेकी छन्, “मैले सोचेँ फागुन २१ जस्तै चुनाव हो, उही निर्वाचन आयोग जस्तो लागेको थियो। पार्टीको आफ्नै निर्वाचन आयोग हुन्छ भन्ने ज्ञान ममा भएन भन्दैमा मिडिया ट्रायल गर्नु आवश्यक छ र?”
पछिल्ला दिनमा आफ्नो अभिव्यक्तिलाई लिएर भइरहेको टिप्पणीप्रति असन्तुष्टि जनाउँदै तामाङले आफू राजनीतिमा नयाँ भएकाले धेरै विषय सिक्ने र बुझ्ने क्रममै रहेको स्पष्ट पारेकी छन्। उनले राजनीतिक परिवारबाट नआएको र अनुभवको अभावका कारण केही विषयमा जानकारी नहुन सक्ने बताएकी छन्।
“मेरो राजनीतिमा जन्म भएको धेरै समय भएको छैन। न मेरो बुबा राजनीतिज्ञ हुनुहुन्थ्यो, न आमा, न म स्वयं राजनीतिमा हुर्किएको व्यक्ति हुँ। मान्छे सिक्दै जाने र बुझ्दै जाने हो,” उनले लेखेकी छन्।
तामाङले महाधिवेशनले आफूलाई राजनीतिक अभ्यास र संगठन सञ्चालनबारे नयाँ अनुभव दिएको उल्लेख गर्दै अन्ततः राजनीतिक दलभित्रका विवाद, प्रतिस्पर्धा र निर्णयहरूको असर आम नागरिकमाथि नै पर्ने निष्कर्षमा पुगेको बताएकी छन्।
“मैले महाधिवेशनबाट के बुझेँ भने दुःख पाउने त उही भुइँमान्छे जनता नै रहेछ, जता पनि,” उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन्।
रास्वपाको प्रथम महाधिवेशन चलिरहेका बेला तामाङको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो। पार्टीको आन्तरिक निर्वाचन प्रक्रियाबारे दिएको प्रतिक्रियापछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएपछि उनले आफ्नो धारणा स्पष्ट पार्दै स्पष्टीकरण दिएकी हुन्।
प्रतिक्रिया दिनुहोस्