राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा महिला उपसभापति पदका लागि डा. तोशीमा कार्की र सोबिता गौतमबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। सहमतिबाट नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको प्रयास सफल हुन नसकेपछि उक्त पदको टुंगो अब निर्वाचनमार्फत लाग्ने भएको हो।
पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी पदका उम्मेदवारहरूको अन्तिम सूचीमा महिला उपसभापति पदका लागि डा. कार्की र सोबिता गौतमको उम्मेदवारी कायम रहेको छ। यससँगै महाधिवेशनको सबैभन्दा चर्चित प्रतिस्पर्धामध्ये एक महिला उपसभापति पदमा हुने निश्चित भएको छ।
पार्टी स्रोतका अनुसार नेतृत्वले वर्तमान कोषाध्यक्ष लिमा अधिकारीलाई सर्वसम्मत उम्मेदवार बनाउने प्रयास गरेको थियो। तर डा. तोशीमा कार्की र सोबिता गौतम दुवैले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेपछि सहमतिको सूत्र भंग भएको हो। त्यसपछि लिमा अधिकारीले आफ्नो दाबी अघि नबढाएपछि प्रतिस्पर्धा दुई नेतृमा सीमित भएको छ।
यसक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेकी सोबिता गौतमलाई उम्मेदवारीबारे पुनर्विचार गर्न पार्टी नेतृत्वले आग्रह गरेको स्रोतले जनाएको छ। पार्टीले अवलम्बन गरेको ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को सिद्धान्तअनुसार सरकार र पार्टीमा एउटै व्यक्तिले एकैसाथ प्रमुख जिम्मेवारी नसम्हाल्ने सन्देशसहित यस्तो सुझाव दिइएको बताइएको छ। तर सोबिताले उम्मेदवारी कायम राखेपछि नेतृत्वको प्रयास सफल हुन सकेन।
महिला उपसभापति पदमा हुने यो प्रतिस्पर्धालाई रास्वपाभित्र नयाँ पुस्ताको नेतृत्व, संगठनभित्रको प्रभाव र महाधिवेशन प्रतिनिधिहरूको रोजाइको महत्वपूर्ण परीक्षणका रूपमा हेरिएको छ। पहिलो महाधिवेशनबाट संस्थागत नेतृत्व निर्माण गरिरहेको रास्वपामा अब यो निर्वाचनको नतिजाले पार्टीको भावी शक्ति सन्तुलन र नेतृत्व संरचनामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्