अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप २०२६ मा नयाँ इतिहास रचेका छन्। जोर्डनविरुद्ध ३–१ को जितमा गोल गर्दै उनले विश्वकपमा लगातार सात खेलमा गोल गर्ने पहिलो खेलाडी बन्ने अद्वितीय कीर्तिमान कायम गरेका हुन्।
डलासमा आइतबार सम्पन्न समूह ‘जे’ को अन्तिम खेलमा अर्जेन्टिनाले सुरुदेखि नै खेलमाथि नियन्त्रण जमाएको थियो। जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीको गोलमा अर्जेन्टिनाले सहज जित निकाल्यो। यससँगै लगातार तेस्रो जित दर्ता गरेको अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम ३२ मा पुगेको छ, जहाँ उसको भेट केप भर्डेसँग हुनेछ।
खेलको १९औँ मिनेटमा लो सेल्सोले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यसपछि ३१औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई लाउटारो मार्टिनेजले गोलमा परिणत गर्दै टोलीको अग्रता २–० पुर्याए।
दोस्रो हाफमा जोर्डनका मौसा अल्टामारीले गोल गर्दै खेललाई २–१ मा झारे। उक्त गोलसँगै अर्जेन्टिनाका गोलरक्षक Emiliano Martínez ले विश्वकप २०२६ मा पहिलो पटक गोल बेहोरे।
६०औँ मिनेटमा मैदान प्रवेश गरेका मेसीले खेलको ८०औँ मिनेटमा प्राप्त फ्रिकिक अवसरलाई शानदार गोलमा परिणत गरे। उनको सटीक प्रहारले जोर्डनको पुनरागमनको सम्भावना समाप्त पार्दै अर्जेन्टिनाको जित सुनिश्चित गर्यो।
यस गोलसँगै ३९ वर्षीय मेसीले फ्रान्सका Just Fontaine र ब्राजिलका Jairzinho को लगातार ६ खेलमा गोल गर्ने विश्वकप कीर्तिमानलाई उछिन्दै नयाँ इतिहास रचेका छन्।
मुख्य खेलाडीलाई विश्राम दिएर मैदान उत्रिएको अर्जेन्टिनाले वैकल्पिक टोलीबाट पनि प्रभावशाली प्रदर्शन गर्दै आफू उपाधिको बलियो दाबेदार रहेको सन्देश दिएको छ।
प्रतिक्रिया दिनुहोस्