Ads

असार १५ को रौनक: भक्तपुरमा जुजु धौ बनाउन भ्याइनभ्याइ


दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा भक्तपुरमा प्रसिद्ध जुजु धौको उत्पादन र बिक्री उल्लेख्य रूपमा बढेको छ। पर्वका कारण माग ह्वात्तै बढेपछि भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौसहितका व्यवसायीहरू बिहानैदेखि उत्पादनमा व्यस्त देखिएका छन्।

सामान्य दिनको तुलनामा यस वर्ष पनि जुजु धौको माग अत्यधिक बढ्ने अनुमान गर्दै व्यवसायीहरूले धेरै परिमाणमा दूध जमाएर उत्पादन बढाएका छन्। असार १५ मा दही–चिउरा खाने नेपाली परम्पराका कारण बजारमा जुजु धौको विशेष माग रहने गरेको छ।

जुजु धौ उत्पादनका लागि ताजा दूधलाई निश्चित तापक्रममा उमालेर चिस्याइन्छ। त्यसपछि प्लास्टिकका बट्टा वा परम्परागत माटाका भाँडामा राखेर आवश्यक तापक्रममा जम्न छाडिन्छ। करिब पाँचदेखि छ घण्टापछि दूध स्वादिष्ट, गाढा र मिठासयुक्त जुजु धौमा परिणत हुने गर्दछ।

उत्पादकहरूका अनुसार माटाका भाँडाले दूधको अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत विधि, शुद्ध दूधको प्रयोग र विशिष्ट स्वादका कारण भक्तपुरको जुजु धौले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै विशेष पहिचान बनाएको छ।

नेवारी संस्कृतिमा जुजु धौलाई शुभताको प्रतीक मानिन्छ। जन्मोत्सव, शुभकार्य, यात्रा, सफलता प्राप्ति तथा विभिन्न विशेष अवसरमा सगुनका रूपमा दही प्रयोग गर्ने परम्परा आज पनि जीवित छ। त्यसैले जुजु धौ केवल खाद्य परिकार मात्र नभई सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ।

भक्तपुरमा हाल करिब पाँच दर्जन जुजु धौ व्यवसायी सक्रिय रहेका छन्। असार १५ जस्ता विशेष पर्वमा माग अत्यधिक बढ्ने भएकाले उनीहरू उत्पादन बढाएर बजारको आवश्यकता पूरा गर्न जुट्ने गरेका छन्। परम्परागत स्वाद, गुणस्तर र सांस्कृतिक महत्वका कारण जुजु धौ नेपालीहरूको पहिलो रोजाइ बन्ने गरेको व्यवसायीहरू बताउँछन्।

Ads

सम्बन्धित पोष्टहरू