प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्मा ले नेपालमा कम्युनिष्ट आन्दोलन वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा विघटन भइसकेको दाबी गरेका छन्। उनले अहिले कम्युनिष्ट आन्दोलन जीवित नरहेको, आन्दोलनमा संलग्न नेता र समर्थकहरू मात्र बाँकी रहेको टिप्पणी गरेका हुन्।
सोमबार काठमाडौंमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय समाजवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले नेपाली कम्युनिष्ट आन्दोलन आफ्नो मूल उद्देश्य, विचार र संगठनात्मक चरित्रबाट विचलित भइसकेको बताए। उनका अनुसार आन्दोलन वैचारिक रूपमा अन्योलमा, राजनीतिक रूपमा गन्जागोलमा र साङ्गठनिक रूपमा नोकरशाही प्रवृत्तिको शिकार बनेको छ।
कार्यक्रममा उनले भने, “अब नेपाली कम्युनिष्ट आन्दोलन अल्मलिएको छ। वैचारिक रूपमा अल्मलिएको, राजनीतिक रूपमा गन्जागोलमा परेको र साङ्गठनिक रूपमा नोकरशाहीतन्त्रमा रूपान्तरण भएको अवस्था छ। मलाई लाग्दैन अहिले नेपालमा कम्युनिष्ट आन्दोलन जीवित छ। आन्दोलनमा लागेका नेताहरू र त्यसलाई समर्थन गर्ने जनता मात्रै जीवित छन्, आन्दोलन स्वयं विघटन भइसकेको छ।”
शर्माले विगतमा देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूसँग करिब ७० प्रतिशत जनमत रहेको स्मरण गर्दै अहिले त्यो आधार कमजोर बन्दै गएको बताए। वामपन्थी जनमतको निरन्तर क्षयले आन्दोलनको संकटलाई थप स्पष्ट पारेको उनको भनाइ थियो।
उनले वर्तमान अवस्थालाई कम्युनिष्ट आन्दोलनको गम्भीर आत्मसमीक्षाको समयका रूपमा व्याख्या गर्दै आन्दोलनलाई पुनर्जीवित गर्न व्यापक वैचारिक बहस, नयाँ राजनीतिक अभियान र सशक्त पुनर्गठन आवश्यक रहेकोमा जोड दिए।
शर्माले आन्दोलनको पुनर्निर्माण बिना वामपन्थी राजनीति थप कमजोर हुने चेतावनी दिँदै नयाँ पुस्तालाई आकर्षित गर्ने दृष्टि, कार्यक्रम र नेतृत्व विकास गर्नुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार विघटनको अवस्थामा पुगेको आन्दोलनलाई पुनः जनतासँग जोड्न सकिए मात्र कम्युनिष्ट शक्तिहरूले आफ्नो ऐतिहासिक प्रभाव पुनः स्थापित गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्