काठमाडौँ, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले यात्रु सङ्ख्या कम भएका कारण कालीकोटको सुनथराली विमानस्थलमा नियमित उडान हुन नसकेको बताएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले विमानस्थल सञ्चालनबारे राखेको जिज्ञासामा मन्त्री पौडेलले ‘ल्यान्ड फ्याक्टर’ अर्थात् यात्रु सङ्ख्याको उपलब्धताका कारण विमानस्थलमा नियमित उडान हुन नसकेको बताए ।
विसं २०८० फागुन १४ गते औपचारिक रूपमा विमानस्थल उद्घाटन गरिएको थियो । विसं २०७३ माघ २९ मा पहिलोपटक तारा एयरबाट परीक्षण उडान भएको थियो ।
उक्त विमानस्थलमा नियमित उडान सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, तारा एयर, सीता एयर, समिट एयर तथा कालीकोटका प्रतिनिधिको उपस्थितिमा छलफल भएको मन्त्री पौडेलले बताए । छलफलमा तारा एयरले हप्ताको दुई दिन नियमित उडान गर्न सहमति जनाए पनि यात्रुको सुनिश्चितता नहुँदा विमानस्थल सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।
“नियमित यात्रुको सुनिश्चितता भएमा उडान सुरु हुन्छ”, मन्त्री पौडेले भने । उनका अनुसार नेपालमा ५५ वटा विमानस्थल छन् । जसमध्ये ३४ वटा विमानस्थल सञ्चालनमा रहेका छन् । अधिकांश पहाडी क्षेत्रका विमानस्थल यात्रु अभावका कारण सञ्चालन गर्न सकिएको छैन । बसाइँसराइ, सडक सुविधा सस्तो हुनुलगायत कारणले यात्रु सङ्ख्यामा कमी आएको मन्त्री पौडेलले बताए । राष्ट्रिय सभाको अर्को बैठक असार १८ गते बिहीबार १ः१५ बजे बस्ने छ ।
प्रतिक्रिया दिनुहोस्