सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै ५ सय रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोलीले बिहीबार मुख्यमन्त्री शाहको निवासमै पुगेर ट्राफिक नियम उल्लंघनबापत जरिवाना तिराएको हो।
लामो समयदेखि स्वास्थ्य समस्याका कारण बैशाखीको सहारामा हिँडडुल गर्दै आएका मुख्यमन्त्री शाहले आफ्नै निवासको कम्पाउण्डभित्र हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि ट्राफिक प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको थियो। उक्त भिडियो मुख्यमन्त्रीका स्वकीय सचिवले टिकटकमार्फत सार्वजनिक गरेका थिए।
ट्राफिक प्रहरीले काटेको चिटमा ‘हेलमेट नलगाई सवारी चलाएको कसुर’ उल्लेख गरिएको छ। सोही कसुरमा उनलाई ५ सय रुपैयाँ जरिवाना गरिएको हो।
जरिवाना तिरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहले ट्राफिक प्रहरीको कारबाहीप्रति धन्यवाद व्यक्त गरे। हेलमेट नलगाई मोटरसाइकल चलाएकाले कानुनी व्यवस्थाअनुसार आफूलाई जरिवाना गरिएको भन्दै उनले कानुनको सम्मान गर्नुपर्ने बताए।
उनले नागरिकलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्दै नियम उल्लंघनका कारण धेरै दुर्घटना हुने गरेको उल्लेख गरे। “हामी सबैले पूर्ण रूपमा ट्राफिक नियम पालना गर्नुपर्छ। कानुन सर्वसाधारण, ओहोदावाला व्यक्ति वा सत्तामा रहेका सबैका लागि समान हुन्छ,” उनले भने।
मुख्यमन्त्री शाहले कानुनको कार्यान्वयनमा कुनै व्यक्तिका लागि फरक व्यवहार हुन नहुने पनि बताए। कानुन प्रयोग गर्ने र गराउने दुवैले आफ्नो अनुकूल व्याख्या नगरी निष्पक्ष रूपमा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।
उनले ट्राफिक नियम उल्लंघन नगर्न सबैलाई आग्रह गर्दै कानुनबमोजिम गरिएको कारबाहीलाई आफूले सकारात्मक रूपमा लिएको बताए।
प्रतिक्रिया दिनुहोस्