Ads

सरकारको कोसिस देखियो, रिजल्ट देखिएन


श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले वर्तमान सरकारले आफ्नो सय दिनको अवधिमा जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

दार्चुलामा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले उक्त धारणा राखेका हुन् । सरकारले काम गर्ने प्रयास गरे पनि त्यसको ठोस परिणाम आम नागरिकले अनुभूति गर्न नपाएको उनको भनाइ थियो ।

सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, “कोशिस उहाँहरूले गर्नुभएको हो, तर रिजल्ट जनताले त्यति महसुस गरेका छैनन् । महँगी धेरै बढेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो सल्लाह थियो ।”

अध्यक्ष राईले देशमा बढ्दो महँगीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै मूल्यवृद्धि नियन्त्रणका लागि आफूहरूले सरकारलाई निरन्तर सुझाव दिँदै आएको समेत जानकारी गराए । जनताको दैनिक जीवनमा वास्तविक सुधार देखिनु नै सरकारको सफलताको कडी हुनेमा उनले जोड दिए ।

आफ्नो दार्चुला भ्रमणको अनुभव साट्दै राईले देशका दुर्गम क्षेत्रहरू अझै पनि आधारभूत सेवाबाट बञ्चित रहेको बताए । विशेष गरी विकट क्षेत्रमा सञ्चार पहुँचको तीव्र अभाव रहेको उल्लेख गर्दै उनले राज्यको ध्यान त्यसतर्फ जानुपर्ने औँल्याए ।

आलोचनाका बीच अध्यक्ष राईले सरकारको हालैको एउटा निर्णयको भने प्रसंशा गरे । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेर जनतालाई केही राहत दिन खोजेको भन्दै उनले उक्त कदमलाई सकारात्मक रूपमा समर्थन गर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू