Ads

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छः उपत्यका प्रहरी प्रमुख


काठमाडौँ, । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी कार्यक्रम’को सुरु गरिएको छ ।

प्रहरी प्रभाग नयाँ बसपार्क र सामुदायिक सेवा केन्द्र गोङ्गबुले आज आयोजना गरेको कार्यक्रममा मानव बेचबिखन रोकथाम र युवालाई लागुऔषध दुव्यर्सनबाट जोगाउन सचेतना प्रदान गर्ने हेतुले सप्ताहव्यापी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

विशेषगरी, युवा पुस्तामा बढ्दो लागुऔषधको लत र समाजमा लुकेर रहेका मानव बेचबिखनका घटना नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रमले सहयोग पुग्ने बताउँदै उनले मानव बेचबिखन र लागुऔषधविरुद्धको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले गोङ्गबु बसपार्क क्षेत्र लागुऔषध दुव्र्यसन र मानव बेचबिखनको समस्या रोकथामका लागि सामूहिक प्रयासको खाँचो औँल्याए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायातका साधनमार्फत लागुऔषध ओसारपसार हुने भएकाले दोषी चालक तथा सहचालक बन्ने गरेको हुँदा त्यसको रोकथामका लागि यात्रु चढाउँदा विशेष ध्यान दिनुपर्ने बताए ।

टोखा नगरपालिका–९ का अध्यक्ष रामभक्त घिमिरेले गोङ्गबु क्षेत्रलाई अपराधमुक्त बनाउन स्थानीय सरकारले प्रहरीसँगको सहकार्य गर्दै आइरहेको छ भने ।

प्रहरी प्रभाग नयाँबसपार्कका प्रमुख शङ्कर श्रेष्ठले गोङ्गबु बसपार्क क्षेत्रका होटल, रेष्टुराँ, दोहोरी, विद्यालय, सार्वजनिक स्थानमा एक सातासम्म ‘मानवबेचबिखन र लागुऔषधविरुद्ध विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । कार्यक्रममा महर्षि कलेज पवित्रनगर, विएसटी कलेज बसपार्कका विद्यार्थीको सहभागिता थियो ।

Ads

सम्बन्धित पोष्टहरू