नेपालमा विद्युतीय तथा आधुनिक यातायात प्रविधिको सबैभन्दा ठूलो प्रदर्शनीमध्ये एक मानिएको नाइमा मोबिलिटी एक्स्पो २०२६ यस वर्ष अझ भव्य र व्यवस्थित रूपमा आयोजना हुने भएको छ। आगामी साउन २६ देखि ३१ गतेसम्म काठमाडौंमा सञ्चालन हुने एक्स्पोमा ५३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा नवीन प्रविधियुक्त उत्पादन सार्वजनिक गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार यस वर्षको एक्स्पोले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको मोबिलिटी क्षेत्रको नवीनतम प्रविधि, विद्युतीय सवारीसाधन, स्मार्ट यातायात समाधान तथा दिगो ऊर्जा आधारित यातायात प्रणालीलाई एकै थलोमा प्रस्तुत गर्नेछ। नयाँ मोडलका कार, मोटरसाइकल, स्कुटर, व्यावसायिक सवारीसाधन तथा अत्याधुनिक मोबिलिटी समाधानहरू एक्स्पोको प्रमुख आकर्षण रहनेछन्।
एक्स्पोलाई आगन्तुकमैत्री बनाउन सहज आवतजावतको व्यवस्था, पर्याप्त पार्किङ सुविधा, टिकटमा ५० प्रतिशतसम्म छुट, विविध परिकारसहितको फुड कोर्ट तथा उद्योग, प्रविधि र दिगो यातायातसम्बन्धी विशेष लर्निङ सेसनको समेत व्यवस्था गरिएको छ। यसले प्रदर्शनीलाई केवल व्यापारिक कार्यक्रम मात्र नभई ज्ञान, अनुभव र प्रविधिको साझा मञ्चका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
नेपालको अटोमोबाइल तथा मोबिलिटी उद्योगका उत्पादक, वितरक, लगानीकर्ता, नीति निर्माता तथा उपभोक्ताबीच प्रत्यक्ष संवाद र सहकार्यको अवसर सिर्जना गर्ने उद्देश्यसहित आयोजना हुन लागेको एक्स्पोले बजारमा नयाँ प्रविधिको प्रवेश, हरित यातायातको प्रवर्द्धन तथा उद्योग विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
आयोजकका अनुसार यस वर्षको एक्स्पोले सहभागी ब्रान्ड, उत्पादन र सेवाको विविधतासँगै दर्शक सहभागिताको नयाँ कीर्तिमान समेत कायम गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्