Ads

अर्थतन्त्र सुधारको एजेन्डासहित निजीक्षेत्रसँग पहिलोपटक छलफल गर्दै प्रधानमन्त्री बालेन


प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक निजीक्षेत्रका शीर्ष नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

मुलुकको अर्थतन्त्र, लगानीको वातावरण र सरकार-निजीक्षेत्रबीचको सहकार्यलाई केन्द्रमा राखेर बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक हुन लागेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत निजीक्षेत्रका प्रमुख छाता संगठनका प्रतिनिधिहरू सहभागी हुनेछन्।

छलफलमा मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग-व्यवसायले भोगिरहेका चुनौती, लगानी तथा उत्पादन वृद्धि, रोजगारी सिर्जना, नीतिगत सुधार र सरकार-निजीक्षेत्रबीचको प्रभावकारी सहकार्यका विषयमा विस्तृत विमर्श हुने अपेक्षा गरिएको छ।

कमलेशकुमार अग्रवालका अनुसार प्रधानमन्त्रीको निमन्त्रणामा निजीक्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वलाई बैठकका लागि बोलाइएको हो।

प्रधानमन्त्री बनेपछि निजीक्षेत्रसँग हुन लागेको यो पहिलो औपचारिक संवादलाई सरकार र व्यवसायी समुदायबीच विश्वास अभिवृद्धि गर्ने तथा अर्थतन्त्रलाई चलायमान बनाउने साझा रणनीति तय गर्ने अवसरका रूपमा हेरिएको छ। बैठकबाट निजीक्षेत्रका सुझावका आधारमा लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसायका समस्या समाधान तथा आर्थिक गतिविधि तीव्र बनाउने दिशामा ठोस निष्कर्ष निस्कने अपेक्षा गरिएको छ।

Ads

सम्बन्धित पोष्टहरू