काठमाडौँ । उन्नाइसौँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रम गरी मनाइने भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा दिवस मनाउने निर्णय गरेको हो ।
मूल आयोजक समितिको उपाध्यक्षमा मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटा र सदस्यसचिवमा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका उपसचिव प्रेमराज अधिकारी रहेका छन् ।
दिवसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा सम्मान तथा पुरस्कार समिति तथा पुस्तकालय समन्वय तथा अभिलेख शाखाका प्रमुख प्रेमराज अधिकारीको संयोजकत्वमा प्रकाशन तथा सम्पादन समिति गठन गरिएको छ ।
त्यस्तै नेपाल सामुदायिक पुस्तकालय सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेयको संयोजकत्वमा प्रचारप्रसार समिति र पुस्तकालय परिचारक सङ्गठन नेपालका अध्यक्ष यज्ञराज भट्टको संयोजकत्वमा सामाजिक तथा रचनात्मक क्रियाकलाप समिति गठन गरिएको पुस्तकालय सङ्घका महासचिव पाण्डेयले जानकारी दिए ।
प्रदेशदेखि स्थानीय तहसम्म कार्यक्रम हुने
पुस्तकालय दिवस कार्यक्रम प्रदेश र स्थानीय तहका शैक्षिक संस्था तथा पुस्तकालय क्षेत्रसँग सम्बन्धित सङ्घसंस्थामार्फत कार्यक्रम सञ्चालन गरिनेछ । त्यसका लागि सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको महासचिव पाण्डेयले जानकारी दिए ।
त्यस्तै, स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई अनुरोध गरिनेछ । त्यसको आवश्यक सहजीकरणका लागि गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घलाई समेत अनुरोध गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्