Ads

नारेश्वर तालमा पानी जम्मा हुन सुरु


दमौली (तनहुँ), । नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको ताल उत्खनन गरी पानी जम्मा गर्न थालिएको हो । उक्त तालमा करिब २५ हजारदेखि ३० हजार घनमिटर पानी भण्डारण गर्न सकिन्छ । तनहुँको व्यास नगरपालिका–१० मा पर्ने उक्त ताल करिब २८ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

तालको बाँध तथा अन्य संरचना निर्माण पूरा भएसँगै पानी जम्मा गर्न सुरु गरिएको हो । ताल व्यास नगरपालिकाको गौरवको आयोजना हो ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष विजय दरैले ताल आकर्षक देखिन थालेकाले यहाँ आन्तरिक पर्यटक घुम्न आउन थालेका छन् । यहाँ आउने पर्यटकले फेसबुक, टिकटकमा भिडिओ र फोटो पोष्ट गर्दा तालको महत्व बढ्दै गएको छ ।

उनले नारेश्वर ताललाई कृषि, पर्यटन, वातावरण र स्थानीय रोजगारीसँग जोडिएको बहुउद्देश्यीय आयोजनाका रूपमा विकास गर्ने लक्ष्य राखिएको जानकारी दिए । “तालमा पानी जम्मा हुन थालेसँगै आयोजनाको महत्वपूर्ण चरण पूरा भएको छ । अब यसको उपयोगलाई कसरी बढीभन्दा बढी प्रभावकारी बनाउने भन्ने विषयमा ध्यान दिनुपर्ने अवस्था छ”, उनले भने, “सिँचाइसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि बढाउने गरी तालको विकास गर्ने योजना छ ।”

नारेश्वर ताल निर्माणको उद्देश्य स्थानीय कृषि क्षेत्रलाई आवश्यक पानी उपलब्ध गराउनु पनि हो । तालसँगै सिँचाइ ट्याङ्की निर्माण गरिएको छ । तालमा जम्मा भएको पानी तानेर नजिकैका कृषि क्षेत्रमा वितरण गर्ने व्यवस्था मिलाइने व्यास नगरपालिका–१० का वडाध्यक्ष खेमराज पोख्रेलले बताए ।

यसबाट दुम्सीचौर आसपासका किसानलाई सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । वर्षाको पानीमा निर्भर भएर खेती गर्नुपर्ने अवस्थालाई कम गर्दै नियमित सिँचाइ सुविधा उपलब्ध गराउनसके कृषि उत्पादन बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
नारेश्वर ताललाई आगामी दिनमा व्यास नगरपालिकाको आन्तरिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

पानी भरिएपछि यसको प्राकृतिक सौन्दर्य बढ्ने भएकाले यहाँ जलविहार, वनभोजस्थल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना छ । ताल आसपास आवश्यक संरचना निर्माण गर्दै स्थानीय तथा बाह्य पर्यटक आकर्षित गर्ने न्यौपानेको भनाइ छ ।

ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नसके आसपासका क्षेत्रमा होटल, रेष्टुरेन्ट, स्थानीय उत्पादनको बिक्री तथा अन्य सेवामूलक व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ । “नारेश्वर ताललाई घुम्न आउने ठाउँ मात्र होइन, स्थानीयको आयआर्जनसँग जोडिने गन्तव्यका रूपमा विकास गर्नुपर्छ । ताल वरपर आवश्यक पूर्वाधार विकाससँगै स्थानीय उत्पादन र व्यवसायलाई पनि जोड्ने योजना बनाउनुपर्छ”, उनले भने । नारेश्वर ताल व्यास नगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त साझेदारीमा निर्माण भएको हो । आयोजनाको अनुमानित लागत करिब रु चार करोड रहेको छ ।

नारेश्वर ताललाई नगरपालिकाले केबल एउटा कृत्रिम जलाशयका रूपमा नभई कृषि, पर्यटन, वातावरणीय संरक्षण र रोजगारी सिर्जनालाई जोड्ने आधारका रुपमा लिएको नगरप्रमुख न्यौपानेले बताए । तालको नियमित संरक्षण, पानीको व्यवस्थापन, सिँचाइ प्रणालीको प्रभावकारी सञ्चालन तथा पर्यटकीय पूर्वाधार निर्माणलाई सँगसँगै अघि बढाउनुपर्ने देखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू