काठमाडौँ, । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुराको बडिमालिकामा यही भदौ ११ गते हुने भगवती माताको पूजाआजाका लागि त्यसतर्फ पेटारो पठाएका छन् ।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा आज विधिपूर्वक पूजाअर्चना गरी परम्परागत विधिअनुसार पेटारोलाई बडिमालिकातर्फ पठाइएको हो । सुदूरपश्चिमको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको बडिमालिका भगवती पूजामा प्रदेश सरकारका मन्त्री तथा अन्य सरोकार भएका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
बडिमालिकामा पूजाका लागि सरकारका तर्फबाट पेटारो पठाउने परम्परा पहिलेदेखि नै चलिआएको छ । पेटारोमा बडिमालिका भगवतीलाई चढाइने विशेष पूजासामग्री समावेश गरिने र सरकारी पूजा टोलीले पैदलयात्रामार्फत बडिमालिका पुगेर निर्धारित विधिअनुसार पूजा गर्ने परम्परा रहेको छ ।
बडिमालिका पुगेर डोटी, बाजुरा तथा जुम्लाबाट पुगेका सरकारी पूजा टोलीबीच समन्वय गरी मुख्य पूजामा सहभागी हुने परम्परा रहेको छ । यसवर्ष भदौ ११ गते बडिमालिकामा मुख्य पूजा तथा मेला रहेको छ । पछिल्लो समय दर्शनार्थीको बढ्दो चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि नै मन्दिरमा पूजा तथा मेला प्रारम्भ सुरु भइसकेको छ ।
पेटारो पठाउने परम्पराले बडिमालिका भगवतीप्रतिको धार्मिक आस्था मात्र नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र मौलिक परम्परालाई समेत जीवन्त राख्दै आएको मुख्यमन्त्री भट्टले बताए । राज्यस्तरबाट निरन्तरता दिइँदै आएको यो परम्परालाई प्रदेश सरकारले पनि संरक्षण र प्रवर्द्धन गर्दै आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्