म्याग्दी, । म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित आयोजनामार्फत पाँच सय घरमा खानेपानी र ९१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८२र०८३ मा २२ सिँचाइ र १७ वटा खानेपानी योजना निर्माण गरी सुविधा विस्तार गरेको हो ।
कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर झलकमोहन ओझाले ९१ हेक्टर खेतीयोग्य जमिनमा थप सिँचाइ सुविधा र पाँच सय १८ घरमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको जानकारी दिए ।
सिँचाइ सुविधा विस्तारका लागि छ हजार पाँच सय ८० मिटर पक्की नहर, पाँच हजार नौ सय मिटर पाइपलाइन जडान र ५९ वटा विभिन्न संरचना निर्माण भएका छन् । खानेपानीतर्फ १२ किलोमिटर सात सय ७० मिटर मुख्य, ६९ दशमलव १४ किलोमिटर शाखा, तीन सय २० घनमिटर क्षमताका २० वटा पानी सङ्कलन गर्ने ट्याङ्की र एक सय ७८ वटा अन्य संरचना निर्माण भएका छन् ।
यस्ता छन् सम्पन्न भएका सिँचाइ आयोजना
रघुगङ्गा गाउँपालिका–३ मा राँखुपिप्ले सिँचाइ योजना, वडा नम्बर १ बृहत् बेगखोला सिँचाइ योजना र बाँदुक सिँचाइ योजना सम्पन्न भएर किसान लाभान्वित भएका छन् । मालिका गाउँपालिका–५ मा गौरखोला सिँचाइ योजना, वडा नं ७ मा बेल्फी लुर्बाङ सिँचाइ योजना, मङ्गला गाँउपालिका–२ मा तल्लो ओखलढुङ्गा गडहरे सिँचाइ योजना, रणबाङ सिँचाइ योजना र घोरेनी कोत्रेबाङ सिम सिँचाइ योजना सम्पन्न भएको कार्यालयले जनाएको छ ।
यसैगरी मङ्गला–४ मा बुकेनी सिँचाइ योजना, अन्नपूर्ण गाउँपालिका–७ मा औल सिँचाइ योजना, बेनी नगरपालिका–१ मा १९२५ साले सिँचाइ योजना र वडा नम्बर २ मा बगरफाँट सतह तथा भूमिगत सिँचाइ योजना निर्माण भएपछि किसानले समयमै रोपाइँ गर्न पाएपछि खुसी भएका छन् ।
यसैगरी, रघुगङ्गा–३, मौवाफाँटमा घट्टेखोला पुर्नढाँड सिँचाइ योजना, मङ्गला–१ मा तुसारेपानी काउले पैयुँपाटा सिँचाइ योजना, वडा नम्बर २ मा नेवारेखोला सिँचाइ योजना, वडा नम्बर ३ मा अर्जेखोला आरबाङ सिँचाइ योजना, सिमकुना कस्केरी सातबिसे योजना र झ्याप्रेखोला बिसौना सिँचाइ योजना निर्माण भई किसानको खेतमा सिँचाइ सुविधा विस्तार भएको कार्यालयले जनाएको छ ।
बेनी नगरपालिका–९, घतानमा बाहुनपँधेरा पोखरी सिँचाइ योजना, वडा नं ४ मा राहुखोला सिँचाइ योजना, सामतुङ सोता सिँचाइ योजना, मङ्गला–५, अर्मनमा पिपलबोट शेरा सिँचाइ योजना मर्मत र महखोला सिँचाइ योजना र मालिका गाउँपालिका–१ मा खोप्ती सिँचाइ योजना सम्पन्न भएको कार्यालयका इन्जिनियर विश्वासकुमार बस्नेतले जानकारी दिए।
सम्पन्न भएका खानेपानी र नदी नियन्त्रण योजनाहरु
चिमखोला भगवती बृहत् खानेपानी योजना, भुकभुके खानेपानी योजना, तल्लो शिख, शिख उपल्लोगाउँ, ओखले, चिप्लेटी, एकपाटे, थाकनपोखरी, डम्मरा, चुत्रेनी खानेपानी योजना सम्पन्न भएका छन् । यसैगरी बिम तल्लो गाउँ लिफ्टिङ, खालखोला थाप्ले, कोसेपानी घोरेपानी र बगुवाखोला खानेपानी आयोजना निर्माण सकिएका कार्यालयका इन्जिनियर शिवशङ्कर शाहले बताए ।
अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामका लागि तटबन्ध गरिएको छ । यसैगरी चार वटा योजनामार्फत नदी कटान, बाढी र पहिरो रोकथामका लागि २६ मिटर पक्की र ७५ मिटर ग्यावीयन पर्खाल निर्माण भएको उहाँले जानकारी दिए ।
मालिका गाउँपालिका–५ देवीस्थानको पन्थोकमा रहेको गौराखोला लघुजलविद्युत् परियोजना मर्मत गरि एक सय ८० घरमा विद्युत् आपूर्ति गरिएको छ । गत आर्थिक वर्ष २०८२÷०८३ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जातर्फ पुँजीगत शीर्षकमा रु नौ करोड ६४ लाख ८५ हजार बजेट विनियोजन भएकोमा रु आठ करोड ८५ हजार विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस्