काठमाडौँ, । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूमिको समुचित उपयोग गरेर सहकारीका माध्यमबाट रोजगारी सृजना गरी विदेश भौँतारिनुपर्ने अवस्थाको अन्त्य गरिने बताएकी छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले विहिबार मन्त्रालयमा आयोजना गरेको प्रगति समीक्षा तथा सहकारी सुशासनको पहिलो अङ्क विमोचन समारोहलाई सम्बोधन गर्दै उनले स्वदेशमै पाखुरी बजारेर रोजगारी गर्न पाउने व्यवस्था गरेपछि विदेशबाट दैनिकरूपमा शव आउने क्रम पनि रोकिने बताईन ।
इजरायलको मरुभूमिमा समेत कृषि उत्पादन भइरहेकाले हावापानी नै उर्वर रहेको नेपालमा सहकारीका माध्यमबाट रोजगारी सृजना गर्न सकिने मन्त्री श्रेष्ठको भनाइ थियो । “कुनै पनि सहकारी समस्याग्रस्त हुने अवस्था नै नआओस् भनेर पनि यो समितिले अझ धेरै काम गर्नुपर्ने अवस्था छ, रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनेतर्फ समितिले कार्यक्रम गरिरहेको छ, प्रतिकूल अवस्थाका बावजुद समितिले गरेको काम सराहनीय छ, सहकारीलाई तिनको मूल्य, मान्यता र सिद्धान्तअनुसार अघि बढाउनका लागि जागरण फैल्याउन पनि समितिका काम फलदायी छ”, उनले भनिन् ।
हाल देशभर ३२ हजार सहकारी रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले केही सहकारीमा मात्र समस्या आएको सनुभइन् । समस्या आएका सहकारीका बचतकर्तालाई पनि पैसा फिर्ता गर्न समितिले काम गरिरहेको उनले बताईन । नेपालमै पनि राम्रा सहकारी रहेकाले यसको मूल्य मान्यताअनुसार नै सहकारीलाई रोजगारी, उत्पादन वृद्धिजस्ता काममा उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया दिनुहोस्