Ads

प्रहरी भ्यानको ठक्करबाट स्थानीयको मृत्यु पछि सर्लाहीमा निषेधाज्ञा


काठमाडौं । सर्लाहीको बयलवास बजार क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा जारी गरेको बयलवास बजार क्षेत्र ईश्वरपुर नगरपालिकामा पर्छ ।

प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर–५, सखुबनीका ३० वर्षीय रामकुमार महतोको मृत्यु भएको थियो । महतोको मृत्युको घटनालाई लिएर आक्रोशित स्थानीयवासीले आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

उक्त घटनालाई लिएर स्थानीय र प्रहरीबीच मंगलबार झडप हुँदा प्रहरीले चलाएको गोली लागेर आन्दोलित स्थानीयवासी पनि घाइते भएका छन् । ईश्वरपुर–५ का १५ वर्षीय बालक सञ्जय महतोलाई खुट्टामा गोली लागेको छ । उनको उपचारका लागि जनकपुरमा पठाइएको छ । चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका दिगम्बर महतोलाई घुडामा पलाष्टिकको गोली लागेको छ । इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्वमा ईश्वरपुर–४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा वडा नं ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा कुनै पनि किमिसको भेला हुन, बाहिर हिँड्डुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने उल्लेख छ । सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनीलगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले बताए । पीडित पक्षसँग भएको वार्तामा कुनै सहमति हुन नसकेको र आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू