काठमाडौं । कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट शुक्रबार छुट्ने भएका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी आज जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ ।
सर्वोच्चले उनलाई १५ दिनभित्र आफ्नै देश फ्रान्स पठाउन भनेको छ । बुधबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १० महिना कैद छुट दिँदै उनलाई थुनामुक्त गर्न बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरेको हो । जेलमा रहेको ६५ वर्षभन्दा माथि उमेर भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकेको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्था छ ।
शोभराजले २०३२ सालमा जबरजस्ती करणी गरी दुई विदेशी नागरिकलाई हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो । अठहत्तर वर्षीय शोभराजले ४० वर्ष अर्थात् आफ्नो जीवनको आधाभन्दा बढी समय जेलमा बिताएका छन्।
कहाँकहाँ गरे अपराध ?
शोभराजविरुद्ध भारत, थाईल्यान्ड, टर्की, इरान लगायतका मुलुकमा गरी झन्डै २० जनाभन्दा बढीको हत्यामा संलग्न भएको आरोप छ। ती घटनाहरू सन् १९७२ देखि १९८२ सम्म भएका थिए। हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाइएको बताइन्छ।
तर सन् २००४ सम्ममा ती आरोपहरू पुष्टि हुन नसकेको र नेपालमा नै पहिलो पटक हत्याको अभियोग पुष्टि भएको बताइन्छ। सन् २०२० मा बीबीसी र नेटफ्लिक्सले उनीबारे ुद सर्पेन्टु नामक शृङ्खलाबद्ध वृत्तचित्र बनाएको थियो।
भेष बदल्ने, प्रहरी प्रशासनलाई समेत चकित बनाउन वा प्रभावमा पार्न पोख्त मानिने शोभराज पछिल्लो समय सज्जन, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलेु जस्तो व्यवहार गर्ने गरेको कारागारमा खटिएका अधिकारीहरूले यसअघि बताएका थिए।
प्रतिक्रिया दिनुहोस्