लमजुङ। लमजुङमा चरनका लागि लेकमा लगिएका भेँडीगोठ चिसो बढेसँगै बेँसी झारिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र हिँउले ढाक्न थालेका छन् भने चिसो बढेसँगै गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।
घलेगाउँको भेँडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको गंगा घलेले बताए । ४५०० मिटरभन्दा माथि उचाईको जडिबुटी (कुड्की, बन लसुन, पाँच औंले, निर्मसी, सतुवा र यार्सगुम्बा) खाएका भेडाबाख्रा घलेगाउँको डाँडामा आइपुगेको उनले बताए । घलेगाउँको तीनवटा भेँडीगोठ रहेका छन् । अहिले दुईवटा मात्रा झरेका छन् भने अर्को पनि झर्दैछ ।
हिमालको काखमै रहेको ठूले लेक, थुर्जु र दूध पोखरीमा पुगेर गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।
घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेँडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेँडीगोठलाई लिइन्छ ।
पसगाउँको भेँडीगोठ यतिबेला केही क्युबे–ल्हेदे आइपुगेको र केही गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्