Ads

पारित भयो प्रचण्डको प्रतिवेदन, शनिबार केन्द्रीय समिति चयन हुँदै


काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष प्रचण्डले वैचारिक र राजनीतिक प्रतिवेदन तथा नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए ।

सो प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएपछि बन्दसत्रले पारित गरेको हो । प्रतिवेदनमाथि छुट्टाछुट्टै प्रस्तुत गरिएका नेतात्रय राम कार्की, लेखनाथ न्यौपाने र हरिबोल गजुरेलको पुरक र फरक मत प्रस्तावबारे अध्यक्ष प्रचण्डले किटान गरेर नबोलेपनि सबैकाे भावना समेट्ने बताएका छन् ।

उक्त प्रतिवेदनमाथि मंगलबार २५ वटा समूहमा छलफल भएर बुधबार र बिहीबार दुई दिन समूहका नेताहरूले आ–आफ्नो समूहको सुझावसहित निष्कर्ष पेस गरेका थिए ।

यसैविच अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि केन्द्रीय समिति निर्वाचित हुने बताएका छन्। महाधिवेशनस्थल प्रज्ञा भवनबाट बाहिरने क्रममा शुक्रबार साँझ संवाददाताहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पारित भएको र अब भोलि केन्द्रीय समिति चयन हुने बताए।

‘राजनीतिक प्रतिवेदन जोडदार ढङ्गले पारित भयो,’ प्रचण्डले भने, ‘भोलि विधान पारित हुन्छ। भोलि नै केन्द्रीय समिति पनि निर्वाचित हुन्छ।’

 

Ads

सम्बन्धित पोष्टहरू