काठमाण्डौ । मदन भण्डारी स्पोर्टस एकेडेमीको केन्द्रीय संयोजकमा ध्रुव आचार्य चयन हुनु भएको छ ।
एकेडेमीको १३ औंं स्थापना दिवसका अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबाट उहाँको नेतृत्वमा २५ सदस्यीय समिति चयन भएको एकेडेमीले जनाएको छ । यसअघि उहाँ एकेडेमीको उपाध्यक्ष हुनुहुन्थ्यो ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निबास बालकोटमा भएको बिशेष कार्यक्रममा अध्यक्ष ओलीले एकेडेमीको स्थापना दिवसको केक काट्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष ओलीले खेलकुदलाई सबै उमेर समुहका नागरिकको दिनचर्या बनाउनुपर्ने बताउनुभयो ।
खेलकुदलाई शिक्षाका रुपमा समेत बिकास गर्नुपर्ने उल्लेख गर्दै उहाँले सबै शिक्षण संस्थाहरुमा एकेडेमीका अभियान विस्तार गर्न निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले ईमान्दारिता सफलताको रहस्य भएको चर्चा गर्दै आफ्नो अभियानमा सकृयता साथ लाग्न र सफलता हासिल गर्न एकेडेमी नेतृत्वलाई शुभकामना दिनुभयो ।
एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिसदका सदस्यसचिब रमेश सिलवाल, नयाँ नेतृत्व सम्हालेका आचार्य लगायतले बोल्नु भएको थियो ।
संयोजक आचार्यका अनुसार नयाँ समितिले एक महिनाभित्र राष्ट्रिय भेला आयोजना गरी नयाँ कार्यक्रमको तालीका सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्