पोखरा । यती एयरलाइन्सले पोष्टमार्टम पश्चात् परिवारजनलाई शव बुझाउने बताएको छ । एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी आइतबार पोखराको सेती नदी खोचमा दुर्घटना परेको नाइन एन–एएनसी–७२ ५०० विमानमा मृत्यु भएका यात्रुको शव परीक्षणपछि परिवार र आफन्तजनको जिम्मा लगाउने बताएको हो ।
दुर्घटनामा मृतकको शव पहिचान र परीक्षणका लागि गठित विशेषज्ञ टोलीका दुई सदस्य काठमाडौँबाट पोखरा पुगिसकेको र परीक्षणको प्रक्रिया सुरु गरिसकेकाले पोखरामा बुझ्न चाहने परिवारलाई परीक्षण पश्चात शव बुझाइने सो एयरलाइन्सले जनाएको छ ।
विदेशी नागरिक, चालक दलका सदस्य र पहिचान हुन नसकेका शवलाई काठमाडौँ ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको बताइएको छ ।
यती एयरलाइन्सले मृतक यात्रुको परिवारका सदस्य वा आफन्तजनलाई थप जानकारीका लागि एअरलाइन्सको काठमाडौँमा पेम्बा शेर्पा ९९८०१००७५३१० र पोखरामा स्टेशन म्यानेजर राम लामिछाने ९९८०२८२८८००० लाई सम्पर्क गर्न सकिने बताएको छ । यसैगरी, अस्पतालमा हर्क रावल ९९८०२८११२२२० र सुष्मा श्रेष्ठ ९९८०२८१२१११० सँग सूचना लिन सकिने एयरलाइन्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्