Ads

आन्तरिक राजस्व : चालु वर्षको छ महिनामा ७८.८२ प्रतिशत


काठमाडौं । चालु आर्थिक वर्ष (आव) को पहिलो ६ महिनामा आन्तरिक राजस्व लक्ष्यको ७८.८२ प्रतिशत मात्र संकलन भएको छ । यस वर्ष सुरुवातबाटै सरकारले आयातमा कडाइ गरेको थियो । जसले गर्दा आयात खुम्चिँदा त्यसबाट हुने आम्दानी प्रभावित बनेको थियो । सँगै आन्तरिक राजस्व समेत कम उठ्दा सरकार दबाबमा छ ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आवको पुस मसान्तसम्म सरकारले २ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने २ खर्ब २१ अर्ब ७५ करोड रुपैयाँ मात्र भएको छ । यो कुल लक्ष्यको ७८.८२ प्रतिशत हो । आन्तरिक राजस्व भित्र शिक्षा सेवा कर र स्वास्थ्य सेवा करले मात्र लक्ष्य भेटाएको छ । आयकर, घर बहाल कर, ब्याजकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कले भने लक्ष्य भेटाउन सकेनन् । जसका कारण समग्र आय नै प्रभावित बन्न पुगेको छ ।

आन्तरिक राजस्व विभागका अनुसार पुस महिनामा मात्र ७१ अर्ब १३ करोड रुपैयाँ आन्तरिक राजस्व उठेको छ । यो पुस महिनामा लिइएको लक्ष्यको तुलनामा मात्र ६६.४९ प्रतिशत मात्र प्राप्ति हो । यस महिनामा आयकरबाट मात्र ७८ अर्ब रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा प्राप्ति ५१ अर्ब रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ६५.४१ प्रतिशत मात्र हो । पुसमा ब्याज करले भने लक्ष्य भेटाएको छ ।

यस महिनामा १ अर्ब ७४ करोडको ब्याज कर उठाउने लक्ष्य लिइएकोमा १ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ । पुसमा मूल्य अभिवृद्धि कर ७६.९० प्रतिशत मात्र उठेको छ । अन्तःशुल्क अझै कम उठेको छ । अन्तःशुल्क ५९.८० प्रतिशत मात्र उठेको छ । पुसमा सरकारले १३ अर्ब अन्तःशूल्क उठाउने भनेकोमा प्राप्ति ८ अर्ब ९ करोड रुपैयाँ मात्र भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू