काठमाडौं । आज रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको विष्भागले जानकारी दिएको हो ।
हाल देशभर मौसम सामान्यतया सफा रहेको छ भने आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ । आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका केही भू–भागहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्