पर्वत । बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन् । बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरुको भनाइ छ । जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतङ्क नियन्त्रणका लागि केही न केही गरिदिन पटकपटक अनुरोध गर्दै आएका छन् ।
यही गुनासोको सुनुवाइ गर्दै जिल्लाको महाशिला गाउँपालिकाले बाँदर छोपेर अन्यत्रै पठाउने काम पनि गरेको थियो । बाँदर छोप्न विज्ञ टोली ल्याएर छोपिएका बाँदरलाई राष्ट्रिय निकुञ्जमा पठाएको थियो । जिल्लाका धेरै ठाउँमा बाँदर धपाउन कृषक खेती बाली रुँगेर बसिरहेको अवस्था छ । लगाएको बाली बाँदरले नष्ट पारेपछि धेरै कृषक कृषिबाट विस्थापित हुँदै जाने क्रम बढिरहेको छ ।यही समस्या बढ्दै गएपछि जिल्लाको पैयुँ गाउँपालिकाले भने बाँदर नियन्त्रणका लागि बस्ती आसपासका रुख र झाडी काटेर सफा गर्ने अभियान सुरु गरेको छ ।
बाँदरको आतङ्क न्यूनीकरणका साथै बस्ती संरचनाको सुरक्षाका लागि रुख काट्न थालेको बताएको छ । “पालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसको नियन्त्रण गर्न रुख काट्न लागिएको हो । बाँदरले बालीनालीका साथै घरमा राखिएको अन्नपातसमेत खाएर हैरान पारेपछि कृषकले बाँदर नियन्त्रणका लागि अनुरोध गर्छन् । बाँदरलाई नियन्त्रणमा राख्ने ठ्याक्कै उपाय पनि त छैन”, गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीले भने, “बस्ती र खेतीयोग्य जमिनबाट ८० मिटर वरपरका रुख काट्न थालिएको छ ।
बाँदरको आतङ्कले कृषकले उत्पादन गरेका बालीनाली र मान्छेलाई पनि क्षति पुग्ने गरेको छ ।”बाँदर नियन्त्रण गर्ने उपाय यही नै छ भन्ने नभएकाले कम्तीमा पनि झाडीमा घेरिएका घर वरपरको सरसफाइको लागि रुख काट्ने अभियान थालिएको हो । विगतमा बसाइँसराइ कम भएको तथा जनसङ्ख्या वृद्धिदर बढी हुँदा गाउँमा चहलपहल हुने गरेको भए पनि अहिले तिनै गाउँहरू सुनसान बन्दा जङ्गली जनावरको आतङ्क बढेको छ ।
“पहिले जनसङ्ख्या धेरै थियो । बसाइँसराइ पनि हुँदैनथ्यो । अहिले जन्मदर घटेको छ । बसाइँसराइ निरन्तर बढेको छ । गाउँघर सुनसान बनेका छन् । गाउँमा रहेका केहीले खेतीपाती गरे पनि बाँदर, दुम्सी, चरा, मृगलगायतले खाइदिन्छन”, मल्लले भने, “गाउँ रित्तो भइसक्यो । खेतबारी जङ्गल बनिसके । रुख काटियो भने केही कम हुनसक्छ भनेर यो निर्णय गरेका हौँ । गाउँपालिकाका सातवटै वडामा बस्ती आसपासका रुखहरू हटाउने छौँ ।”
रुख काट्ने अभियानका लागि गाउँपालिकाले नै प्रत्येक वडामा एक÷एक वटा रुख काट्ने मेसिन र १५ दिनका लागि दुई÷दुई जनाको दरले कामदार खटाएको छ । सन्तानलाई सुविधायुक्त विद्यालयमा पढाउने, स्वास्थ्य सुविधाको पहुँच हुनेलगायतका कारण ग्रामीण बस्तीबाट सहरमा बसाइँसराइ बढिरहेको अवस्था छ ।
गाउँका घर खाली हुँदै गएका छन् भने बस्ती नै रुखले ढाकिरहेको अवस्था छन् । बस्तीसम्मै रुख र झाडी बन्दा बाँदरलगायतका अन्य वन्यजन्तुको पहुँच मानव बस्तीमा बढिरहेको छ । बाँदरले बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, आलु, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्ने गरेको छ । घरभित्र राखेको अन्न समेत बाँदरबाट जोगाउन नसकिने अवस्था आउँदा कृषक हैरानीमा परेका छन् ।
गाउँपालिकाले नै निर्णय गरेपछि वडा कार्यलयले पनि निर्णय कार्यान्वयनका लागि रुख काट्ने अभियान तीव्रताका साथ चलाइरहेका छन् । पैयुँ गाउँपालिका–१ टकलाकका वडाध्यक्ष मीनप्रसाद न्यौपानेले गाउँ जङ्गलले ढाकिएर बाँदरलगायतका आक्रामक वन्यजन्तुको जोखिम बढ्दै गइरहेकाले गाउँपालिकाको निर्णयअनुसार तत्कालै बस्ती आसपासका रुख हटाउन थालिएको बताए ।
प्रतिक्रिया दिनुहोस्