लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित भोर्लेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा पुनः शिवलाल श्रेष्ठ निर्वाचित भएका छन् । खानेपानी उपभोक्ता समिति नेतृत्व चयनका लागि भएको निर्वाचन मत परिणाम अनुसार प्रतिद्वन्द्वी रामकृष्ण कुँवरलाई एकसय ३५ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।कुल ६ सय १० मत खसेकोमा निर्वाचित श्रेष्ठले तीन सय ६४ मत प्राप्त गरे भने पराजित कुँवरले दुई सय २९ मत प्राप्त गरेका छन् ।
निर्वाचनका लागि दुई प्यानलमा उम्मेदारी दर्ता भएको थियो । निर्वाचन मत परिणाम अनुसार उपाध्यक्षमा नरबहादुर दुरालाई पराजित गर्दै श्रेष्ठ समुहका ज्ञानराज मल्ल निर्वाचित भएका छन् । मल्लले तीनसय ६ मत प्राप्त गर्दा दुराले दुई सय ५७ मत ल्याए ।त्यसैगरी महिला उपाध्यक्षमा श्रेष्ठ समुहबाट नै यशोधा न्यौपाने निर्वाचित भइन् । समितिको सचिवमा भने कुँवर समुहबाट उम्मेदारी दिएका सरोज पौडेल निर्वाचित भए । पौडेलले तीनसय २९ मत प्राप्त गर्दा सचिव पदका अर्का उम्मेदार गेहबहादुर विकले दुईसय ५१ मत प्राप्त गरे ।
समितिको कोषाध्यक्षमा दुईसय ९५ मत सहित श्रेष्ठ समुहका रमेश घिमीरे निर्वाचित बने भने पराजित उम्मेदार कुमबहादुर गुरुङ धिंगलले दुईसय ८१ मत प्राप्त गरे । समितिको सदस्यहरुमा श्रेष्ठ समुहका बिकासराज पौडेल र गीताकुमारी दुरा निर्वाचित भए । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र सम्वद्ध उपभोक्ताहरुको संयुक्त र नेकपा एमाले सम्वद्ध उपभोक्ताहरुको छुट्टै प्यानल विच निर्वाचन भएको हो । खानेपानी उपभोक्ता समिति राजनितिक दलको कुनै भातृसंगठन नभएपनि निर्वाचनका लागि प्रस्तुत भएका उम्मेदार र प्यानलमा राजनितिक रंग देखिएको हो ।
२०५३ सालमा स्थापना भएको भोर्लेटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले तत्कालिन जिल्ला विकास समिति र अन्य साझेदार निकायको सहयोगमा तथा अनुदानमा निर्माण सम्पन्न भई मध्यनेपाल–६, भोर्लेटार क्षेत्रका उपभोक्ताहरूलाई पिउने पानी व्यवस्थापन गर्दै आएको छ । सयुक्त धाराबाट सुरु भएको कार्यक्रम एक घर एक धारा कार्यक्रम लागु गरी पहिलो वर्ष एकसय १२ एकल धारा जडान भएकोमा हाल आठसय ३१ धारा जडान भइसकेको छ । समितिमा आठसय ४० उपभोक्ता आवद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्