काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित ‘खोकना राजकुलो मुहान निर्माण’ आयोजनाको शिलान्यास गरेकी छन् ।
आज ललितपुर महानगरपालिका–२१ नख्खु खोलामा निर्माण सुरु गरिएको सो मुहानको उद्घाटन गरेकी हुन् । स्थानीयका अनुसार उक्त सिँचाइ प्रणाली करिब ३०० वर्षअघिदेखि सञ्चालनमा आइरहेको छ । विगतमा गाउँका मुख्य व्यक्तिबाट संचालन हुँदै आएकोमा हाल खोकना राजकुलो व्यवस्थापन समिति गठन गरेर संचालन गरिँदै छ । स्थानीय कृषकको माग र आवश्यकतालाई मध्यनगर गर्दै चालू आर्थिक वर्षमा मन्त्रालयले मुहान संरक्षणका लागि रु. एक करोड ३२ लाख र नहर निर्माणका लागि रु ४० लाख विनियोजन गरेको थियो ।
कुलोको मुहान शिलान्यास गर्दै मन्त्री भुसालले ऊर्वराभूमिलाई घडेरीका रूपमा बिक्री गर्ने भन्दा पनि कृषि उत्पादन गरी त्यहीबाट आर्थिक आर्जन गर्न खोकनावासीलाई आग्रह समेत गरिन् । मन्त्री भुसालले आफू पनि खेतीमा सामेल भएर काम गर्न चाहेको बताएकी छन् । तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले ऐतिहासिक रहेको उल्लेख गर्दै मन्त्री भुसालले शिलान्यास गरिएको राजकुलोको काम गुणस्तरीय तवरले निर्धारित समयमा सकाउन निर्देशन दिईन् । जनताको जीवनस्तर माथि उठ्नुपर्नेमा जोड दिँदै उनले भनिन् । “हामीले भनेको समाजवाद हाम्रै सीप र परिश्रमबाट आउने हो, त्यसका लागि निरन्तर सिर्जनशील काम गर्नुपर्छ ।”
राजकुलोबाट करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध हुने विश्वास रहेको छ । ऐतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग स्थानीयले माग गर्दै आइरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्