Ads

फोक्सुण्डोको स्वास्थ्य सेवालाई नयाँ जीवन दिने पारसको संर्घषको कथा


हेमन्त केसी
सुर्खेत ।
पारसबहादुर शाही पहिलो पटक तीन वर्षअघि अर्थात् २०७६ साल कात्तिक २२ गते डोल्पाको फोक्सुण्डो स्वास्थ्य चौकीमा पुगेका थिए । उनी पुग्दा दुई कोठे तापिरिचा माध्यमिक विद्यालय भवनको एउटा कोठामा सञ्चालनमा रहेको थियो, स्वास्थ्य चौकी ।

सहर बजारको ठूला स्वास्थ्य संस्था देखेका शाही विद्यालयको एक कोठामा सञ्चालनमा रहेका स्वास्थ्य चौकी देख्दा छक्क परेका थिए । त्यहाँ शाही पुग्दा स्वास्थ्य चौकीमा कार्यरत पासाङ रोकाय सानो घरको भान्सा कोठामा काम गर्दै थिइन् । पारस पनि सोही कोठामा रोकायसँग गएको सुनाए । कोठामा एउटा कुर्सीमा बसेकी रोकायलाई पारसले फोक्सुण्डो स्वास्थ्य चौकीको इन्चार्ज भएर आएको खबर सुनाएपछि कुर्सीमा बस्न आग्रह गरेकी थिइन् ।   कुर्सीमा पारस नबसी टेबुलमै बसेको उनी बताउँछन् । रोकायले पारसलाई स्वास्थ्य संस्थाको विजोग अवस्थाबारे जानकारी गराइन् ।

रोकायले सुरुमै आवश्यक औषधि, कर्मचारी बस्ने कुर्सी र खाना बस्नको अभावसहिको समस्याको लामो कथा सुनाइन् । उनले कर्मचारीले आफू आएको वा नआएको जानकारी दिने हाजिरी किताबसम्म स्वास्थ्य संस्थामा नभएकोसमेत पारसलाई जानकारी गराइन् । यसपछि पारस वडाध्यक्ष निमा लामाको घरमा पुगे । तर, घरमा वडाध्यक्षलाई भेट्नन् । वडा अध्यक्ष लामा रहेको फोक्सुण्डो ताल नजिकै रहेको हिमालय होटलमा पुगेर पारसले आफूहरुलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह गरे ।

अध्यक्ष लामाले बजेट नभएको भन्दै समस्या रहेको सुनाएपछि शाहीले प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीलाई फोन गरेर समस्या समाधान गर्न आग्रह गरेको बताउँछन् । अधिकारीले ताल नजिकै रहेको रिग्मो गाउँबाट स्वास्थ्य सेवा दिने गरी हिमालय होटलको दुई कोठा गाउँपालिकाले भाडा तिर्ने गरी व्यवस्थापन गर्ने बताए । तर, भाडाको एक कोठामा भान्सा र अर्कोमा स्वास्थ्य कसरी चलोस्, पारसको मनले मानेन ।

स्वास्थ्य चौकी तीन घण्टाको दूरीमा रहेको र सबैको पाएक पर्ने ठाउँमा रहेकोले रिग्मो गाउँमा पारसको मनले बस्न मानेन । चार घण्टा टाढाको दूरीमा रहेको ठाउँमा निकै मिहेनत गरेर नयाँ भवनमा निर्माण भएको, तर निर्माण व्यसासायीसँग आग्रह गर्दा पनि हस्तान्तरण गर्न नमानेपछि कार्यकारीसँग समन्वय गरेर ३ वैशाख २०७७ मा नयाँ भवनमा सनर्ने काम गरेको उनले सुनाए । नयाँ भवनमा सारेपछि मात्र काम वातावरण निर्माण भएको पारसले जानकारी दिए ।

कान्छीमाया तामाङ फाउन्डेसनमार्फत् उपकरण र आर्थिक सहयोगमा काम सुरु गर्ने वातावरण समेत तयार भयो । ग्रामीण ठाउँमा काम गर्न सकिने अल्ट्रासाउन्ड स्वास्थ्य चौकीमा लिएर उनले आफ्नो जिम्मेवारी वहनलाई अघि बढाए । बिरामीलाई भर्ना गरेर निशुल्क सेवा दिन मिल्ने गरी पाँच शय्या स्थापना गरियो । स्वास्थ्य चौकीमा बत्ती नभएका कारण आफ्नो ब्यक्तिगत खर्च गरी वैकल्पिक ऊर्जामा करिब ३ किलोवाट सौर्य विद्युत उपलब्ध गराइदिन निवेदन दिएको शाहीले पीडा सुनाए । अहिले वैकल्पिक ऊर्जाले केही महिनामा सौर्य बत्ती हस्तान्तरण गर्ने जानकारी गरायो ।

यसरी जनताको स्वास्थ्य सेवामा उनी खटिरहे । उनी करिब तीन वर्षको फोक्सुण्डो स्वास्थ्य चौकीमा रहँदा शे–फोक्सुण्डो गाउँपालिकाको–८ र ९ पूर्ण खोप वडा घोषणा भइसकेको छ । उपल्लो डोल्पाका तीन स्थानीय तहमध्ये  फोक्सुण्डो स्वास्थ्य चौकीले मात्रै पुर्ण खोप वडा घोषणा गर्न सफल भएको  छ ।  फोक्सुण्डो स्वास्थ्य चौकीले कोभिड भ्याक्सिन पनि पहिलो, दोस्रो र बुस्टर डोज शतप्रतिशत  लगाउने स्वास्थ्य संस्थामा पर्छ । विगत तीन वर्षदेखि स्वास्थ्य चौकीले वर्थिङ सेवा दिँदै आएको छ । साल अड्किएर समस्यामा परेकी पुग्मो र बच्चा जन्माउन नसकेकी रिग्मो गाउँबाट १ जनालाई आवश्यक सहजीकरण गरी निःशुल्क दुईजना सुत्केरी महिलाको हवाइ उद्धार गरेको छ।

आर्थिक वर्ष २०७८÷७९ मा फोक्सुण्डो स्वास्थ्य चौकीले स्वास्थ्य चौकीअन्तर्गत न्यूनतम सेवा मापदण्डमा ६८  प्रतिशत अंकसहित अपर डोल्पाको तीनवटा स्थानीय तहमध्ये फोक्सुण्डो स्वास्थ्य संस्था पहिलो स्वास्थ्य संस्था बन्न सफल भएको छ । स्वास्थ्य चौकीले दिने न्युनतम सेवा मापदण्डअनुसार सेवा दिने अब्बल स्वास्थ्य संस्थाभित्र पर्न सफल भएको छ।

स्थानीय बासिन्दा र तापिरिचा माध्यामिक विद्यालय परिवार, अन्य सेवाग्राही स्वास्थ्य संस्थाले दिने सेवाप्रति सन्तुष्ट रहेको र स्वास्थ्य चौकी प्रमुख पारसबहादुर शाही आएपछि स्वास्थ चौकीले पुनर्जीवन पाएको सर्वसाधारणले बताउने गर्छन् । उक्त स्वास्थ्य संस्थाबाट दैनिक तापिरिचा माध्यमिक विद्यालय र वडा न ८ र ९ का बासिन्दा र फोक्सुण्डो ताल घुम्न आउने पर्यटकहरु लगायत ३० जना बिरामीहरुले सेवा लिने गर्छन् । चिसो समयमा भने बस्ती तातो ठाउँमा सर्ने भएकाले करिब ३ महिना खोप कार्यक्रमबाहेक ओपिडिसेवा लिनेहरु  छिटफुट मात्रै आउने गर्छन् ।

Ads

सम्बन्धित पोष्टहरू