काठमाडौं । पीएम कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज(मंगलबार) दोस्रो दिन पनि चार खेल हुदैछन् ।
टियु क्रिकेट मैदानमा भएको आजको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ३८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको आर्मी निर्धारित ओभरको एक बल बाँकी रहदा १ सय ३७ रनमा अलआउट भएको थियो ।
त्यस्तै मुलपानीमा भएको आजको दोस्रो खेलमा कर्णाली प्रदेशले प्रदेश नं. १ लाई १ सय २१ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन जोडेको हो ।
आज हुने बाँकी २ खेलमध्य दिउसो साढे १ बजे टियु क्रिकेट मैदानमा नेपाल एपिएफ क्लब र बागमती प्रदेश भिड्ने छन् । मुलपानीमा हुने आजको अन्तिम खेलमा प्रदेश २ र गण्डकी प्रदेश बिच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा त्रिभुबन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् ।
समूह ‘बी’ अन्तर्गत नेपाल एपीएफ क्लब, प्रदेश नं. २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।
दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्