काठमाडौं । प्रदेश २ को नामाकरण र स्थायी राजधानी र नामकरणका लागि प्रदेशसभामा मतदान हुने भएको छ । प्रदेशसभामा पेस भएका नाम सम्बन्धी प्रस्तावमध्ये कुनैमा पनि सहमति नभएपछि मतदान गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
सभामुख सरोजकुमार यादवले बोलाएको सर्वदलीय बैठकमा प्रदेशको नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको हो ।
सभामुख यादवको सभापतित्वमा प्रदेशको नाम र स्थायी राजधानीका लागि आएका प्रस्तावमा छलफल गर्न संसदीय समिति गठन गरिएको थियो । सो समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । छलफलमा कुनै पनि प्रस्तावमाथि सहमति नजुटेको बताइएको छ ।
प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रदेशसभामा दुई तिहाइ बहुमत चाहिन्छ । जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा ६३ जना सांसद छन् । मधेश प्रदेश प्रस्ताव पारित गराउन अझै ७ जना सांसद पुगेमा दुई तिहाई बहुमतले पारित गर्न सकिन्छ ।
अन्य प्रस्तावमध्ये जानकी प्रदेशको पक्षमा नेकपा एकीकृत समाजवादी र नेकपा एमालेका २१ जना छन् भने १९ सांसद रहेको काँग्रेस भने मिथिला भोजपुरा प्रदेशको पक्षमा छ ।
प्रतिक्रिया दिनुहोस्