काठमाडौं । ललिता निवासको जग्गा प्रकरणको किर्ते मुद्धामा पक्राउ परेका रामकुमार सुवेदी र पत्नी माधवी २१ दिन प्रहरी हिरासतबाट छुटेका छन् । बालुवाटारको जग्गा व्यक्तिका नाममा गराउन बिचौलियाको आरोपमा उनीहरूलाई प्रहरीले २१ दिन पहिला पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीले तयार पारेको अनुसन्धानको फाइन सीआइबीलाई नै फिर्ता पठाएको छ । उक्त फाइल फिर्ता पठाएपछि सुवेदी दम्पती पनि मंगलबार छुटेका हुन् ।
सरकारी वकिल कार्यालयको अनुमति लिएर उनीहरूलाई छाडिएको सीआइबी प्रमुख धिरजप्रताप सिंहले बताए । तत्काल मुद्धा अघि नबढ्ने देखिएपछि सुवेदी दम्पतिलाई छोडेको प्रहरीले बताएको छ ।
किर्ते मुद्दामा पक्राउ परेको बढीमा २५ दिनभित्र अदालतमा मुद्दा दर्ता भइसक्नुपर्ने कानुनी व्यवस्था छ । सिंहले सरकारी वकिल कार्यालयले ६५ बुँदे निर्देशन दिएको र त्यसको अध्ययन गरेर थप अनुसन्धान अगाडि बढ्ने बताए ।
यसअघि अनुसन्धानमा सरकारी वकिल कार्यालयले समेत सँगसँगै काम गरेको थियो । तर, मुलुकी फौजदारी अपराध संहिताअनुसार हद म्याद सकिन एक दिन बाँकी रहँदा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाएको थियो ।
सरकारी वकिल कार्यालयले मुलुकी ऐनअनुसार मुद्दा दर्ता हुने र त्यस ऐनमा किर्तेको हदम्याद नरहेको भन्दै अनुसन्धान पूर्ण भएपछि मात्र मुद्दा दर्ता हुने बताउँदै आएको छ ।
प्रहरीले यस मुद्दामा करिब ४ सयजनालाई प्रतिवादी बनाउन प्रस्तावित राय दिएको थियो । हदम्याद सकिन लागेको भन्दै अन्तिम समयमा सुवेदीदम्पतीलाई पक्राउ गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्