काठमाण्डौ ।
कोरोना भाईरस कोभिड १९ को पहिलो र दोस्रो लहरका समयमा सक्रियताका साथ काम गरेका स्थानीयतह अहिले फेरी कोरोना नियन्त्रणमा सक्रिय बन्न थालेका छन् । नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्यञ्जू श्रेष्ठले अगामी दिनमा बढ्न सक्ने कोरोना संक्रमण र निम्तन सक्ने संकटलाई मध्यनजर गर्दै आफ्नो पूर्व तयारी गरिरहेको प्रतिक्रिया दिनुभएको छ । महामारीका रुपमा रहेको कोरोना नियन्त्रणको प्रमुख दायित्व संघीय सरकारको भएपनि स्थानीयतह र पालिकाहरुले आफ्नो क्षेत्रमा कोरोनाका कारण उत्पन्न भएका समस्य समाधानका लागि कुनै कसर बाँकी नराखेको उहाँले बताउनुभयो ।
खबरपोष्टसंग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले हरेक पालिकाले जिम्मेवारीपूर्वक आफ्ना नागरिकको स्वास्थ्या सुरक्षाका लागि काम गरिरहेको बताउनुभयो । संघले पनि आफ्नो तर्फबाट सम्भावित संकटलाई मध्यनजर गर्दै स्वास्थ्या सुरक्षाका मापदण्ड पालना गराउने, होल्डिङ सेन्टर स्थापना गर्ने उपचारको व्यवस्था मिलाउने, खोपको व्यवस्था मिलाउने लगाएतका कार्यलाई प्राथमिकताकासाथ गरेको बताउनुभयो ।
सबै नगरपालिकाहरुलाई विगतका दिनमा जस्तै कोरोना संक्रमणसंग जुध्न आवश्यक स्रोत साधानले पूर्ण बनाउने कार्यका लागि संघले आवश्यक सहयोग गर्ने भन्दै अध्यक्ष श्रेष्ठले पालिकाहरुलाई कुनै समस्या भए एकअर्काबीच साटासाट गर्न अनुरोध गरेको समेत बताउनुभयो । अहिले कतिपय नगरपालिकाहरुले विपद व्यवस्थापन कोषमा बजेट विनियोजन गरेर कोरोना लगाएतका विपद न्यूनिकरण र रोकथामका लागि काम गरिरहेका छन् । स्थानीय सरकार बनेपछि नागरिकका समस्या समाधानका लागि सहयोग पुगेको छ । गाउँ पालिका महासंघका अध्यक्ष होम नारायण क्षेत्रले स्थानीयतहहरुले आफ्ना क्षेत्रका नागरिकको जिउधनको सुरक्षाका लागि आवश्यक तयारी गरेको बताउनुभएको छ । उँहाले सबै स्थानीतहमा विपद व्यवस्थापन कोष रहेको स्मरण गर्दै पहिले कोरोना संक्रमणको समयमा व्यवस्थापन गरेजस्तै यस पटको कोरोनाको संक्रमणबाट जोगिन र जोगाउन आफुहरुले कुनै कसर बाँकी नराख्नेगरी तयारी गरेको बताउनुभयो । देशका सबै गाउँपालिकाहरुमा पहिलेभन्दा धेरै कुरा व्यवस्थित भईसकेको स्मरण गर्दै उहाँले व्यवस्थित हुन बाँकी पालिकाहरुमा पनि आफुहरुले कुनै न कुनै व्यवस्थापन गरिरको बताउनुभयो ।
कोरोना संक्रमण हुनभन्दा पहिले स्वास्थ्या संस्था नरहेका स्थानमा समेत अहिले अस्पताल बनिसकेको उहाँले बताउनुभयो । स्वास्थ्या संस्था बन्नु, खोप लगाउनु दोस्रो कुरा भएपनि पहिलो कुरा आफु सुरक्षित रहनुनै भएको भन्दै उहाँले सबैलाई सुरक्षित रहेर आफ्नो कार्यसञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
अहिले तराई क्षेत्रका जिल्लाहरुमा होल्डिङ सेन्टर स्थापना गर्नेक्रम चलिरहेको छ भने पहाडी र हिमाली जिल्लाका पालिकाहरुमा पनि स्वास्थ्या सुरक्षाका सम्पूर्ण मापदण्ड पालनामा कडाई गरिएको छ । पहिलो र दोस्रो लहरमा धेरै क्षति व्यहोरेको नेपालमा फैलिँदै गएको तेस्रो लहरबाट बच्न सबै स्वास्थ्या सुरक्षाका मापदण्ड अपनाउन आवश्यक छ । धेरै भिडभाडमा नजाने, माक्स लगाउने, समय समयमा सावुनपानीले हात धुने र सेनिटाईजरको प्रयोग गर्ने वानीको विकास गर्नुपर्ने हुन्छ । यसैबीच नेपाल सरकराले पनि कोरोना संक्रमणको दर बढिरहेकोले सबै नागरिकलाई सुरक्षित रहन अनुरोध गरेको छ ।
यसैबीच कर्णाली प्रवेश गर्ने सुर्खेतका दुई नाकामा होल्डिङ सेन्टर निर्माणको प्रक्रिया अघि बढेको जनाइएको छ । कोभिड–१९ को तेस्रो लहर रोकथामका सन्दर्भमा मुख्यमन्त्री जीवनबहादुर शाहीले सन्देश जारी गर्दै पश्चिम सुर्खेतको कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको र भेरीगङ्गा नगरपालिका– १२ मा निर्माण प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । मुख्यमन्त्रीले प्रदेशका सात जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन, खोप सेवासँगै प्रभावकारी परीक्षण तथा विगतमा सञ्चालनमा ल्याइएका आइसोलेशन, भेन्टिलेटर, आइसियूलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको छ ।
मुख्यमन्त्री शाहीद्वारा जारी सन्देशमा भनिएको छ, “प्रदेश प्रवेश विन्दुमा एन्टिजेन परीक्षण कार्यलाई थप प्रभावकारी बनाउन र त्यस्तो परीक्षणबाट पोजिटिभ देखिएकालाई संस्थागत आइसोलेशनमा राख्ने व्यवस्थाका लागि सहजीकरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।” प्रदेशस्तरीय कोभिड–१९ निर्देशक समितिको बैठकले कर्णालीका नागरिकलाई ओमिक्रोन भाइरस सङ्क्रमणबाट बचाउन होल्डिङ सेन्टरलाई प्रभावकारी बनाउन, सबै स्थानीय तहलाई विगतमा गरेका कामलाई निरन्तरता दिन निर्देशन दिइएको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्