काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशाला सेभन स्टार होटल जस्तो बनाएको बताएका छन् । आइतबार बिहान धर्मशाला निरीक्षण गरेका मन्त्री आलेले उक्त कुरा बताएका हुन् ।
आज धर्मशाला निरीक्षण गरेपछि मन्त्री आलेले प्रतिक्रिया दिदै भने, ‘धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरोजस्तो छ, म चकित परेँ ।’
पशुपतिको यो धर्मशाला बतास अर्गनाइजेशनले भाडामा लिएर होटल सञ्चालन गरेको छ। उक्त धर्मशालाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
भक्तजनलाई बसोबासका लागि सजिलो होस् भनेर भारतीय सरकारले भारू २५ करोड खर्चेर धर्मशाला बनाएको थियो।
‘यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ। एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ,’ मन्त्री आलेले भने, ‘धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ।’
उनले पशुपति क्षेत्र विकास कोषका सम्पत्तिमाथि कहाँ के भइरहेको छ भन्नेबारे छानबिन समितिले काम गरिरहेको बताए।
कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजक रहेको समितिले आवश्यक छानबिन गरेको छ।
सुवेदीका अनुसार सोमबार अपरान्ह ४ बजे क्षेत्र विकास कोषको कार्यालयमा छानबिन प्रतिवेदन मन्त्री आलेलाई बुझाउने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्