Ads

केपिलासगढीका अशक्त वृद्धका लागि टहरा निर्माण सुरु


खोटाङ ।  खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानी खोक्माका एकल तथा अशक्त वृद्ध जिरे राईका लागि टहरा निर्माण सुरु गरिएको छ । विगत आठ वर्षदेखि आँखाको दृष्टि गुमाएका र तीन वर्षदेखि ओछ्यानमै दिसापिसाव गर्ने अवस्थामा पुगेका ८३ वर्षीय वृद्धका लागि वडा कार्यालयको पहलमा अलग्गै बस्ने ठाउ निर्माण सुरु गरिएको हो ।

दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि आफन्तले अलग्गै छाप्रो बनाएर राखिरहेका वृद्धका लागि गाउँपालिकासँगको समन्वयमा टहरा बनाउन सुरु गरिएको बासपानीका वडाध्यक्ष तुलाराम राईले बताए । विवाह नगरी बसेका राई वृद्धावस्थामा पुगेसँगै हिँडडुल गर्न सक्दैनन् । वृद्धावस्थामा उनी भतिजो निरकुमार राईको रेखदेखमा बस्दैआएका छन् । तर, दिसापिसाव नै ओछ्यानमा हुन थालेपछि वृद्धको अवस्था दर्दनाक छ ।

हाल उनलाई सुताउन र उठाउन समेत साहरा चाहिन्छ । दिसापिसाव ओछ्यानमै भएपछि सरसफाई अभावमा छाप्रो दुर्गन्धित बनेको छ । अढाई वर्षदेखि सुँगुरको खोरजस्तो छाप्रोमा राखिएका वृद्धलाई व्यवस्थित तरिकाले टहरामा राख्ने व्यवस्था गर्न लागिएको वडाध्यक्ष राईले बताए ।

वडा कार्यालयले टहरा बनाएर गाउँपालिकामा बिलभपाई पेश गर्नेगरी काम सुरु गरेको जनाएको छ । हाल वृद्धका लागि ढलान गरेर जस्ताको छानो हालेर काठको एक कोठे टहरा निर्माण भइरहेको छ । उनलाई आफन्तले अढाई वर्षदेखि छाप्रोमा राख्दैआएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू