काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्री विरोध खतिवडाले यही एक साताभित्रमा स्थानीय तहको निर्वाचनको मिति घोषण हुने दाबी गरेका छन् । मन्त्री खतिवडाले विराटनगरमा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन ।
खतिवडाले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सरकारले स्थानीय तह निर्वाचनको मिति तय गर्ने बताएका हुन् ।
मन्त्री खतिवडाले भने, ‘पाँच दलीय गठबन्धन चुनावबाट भागेको छैन । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको चुनावको मिति टुंग्याउछौँ ।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सत्तासीन दल स्थानीय तहको निर्वाचन गर्न नचाहेको आरोप लगाउन थालेको छ । एमालेको उक्त भनाइको खण्डन स्वरुप मन्त्री खतिवडाको यस्तो भनाइ आएको हो ।
मन्त्री खतिवडाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या तत्काललाई सावधान भएको पनि बताएका छन् । उनले वर्तमान पदाधिकारीलाई काम गर्न रोक लगाइएको र सरकारले पाँच सदस्यीय टोली गठन गरेर धरान पठाएको जानकारी दिए ।
नयाँ टोलीले काम थालेपछि वर्तमान पदाधिकारीले छानबिन नसकिएसम्म काम गर्न नपाउने भनाइ थियो ।
मन्त्री खतिवडाले कोरोनाको महामारीको एक मात्र विकल्प खोप भएकाले खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गरेका छन् । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विषेश डेस्क सञ्चालन गरि नियमित खोप सञ्चालन गरिएको बताए।
आगामी चैत महिनाभित्र १८ वर्ष माथिका लक्षित समुहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको दाबी गरे । उनले भने, ‘सरकारको लक्ष्य अनुपातमा नागरिकको सहभागिता न्यून देखिएको छ। लक्ष्य प्राप्तिका लागि सरकारले सबै प्रदेशमा एकसाथ खोप कार्यक्रमलाई अभियानको शुरु गरेको छ।’
कोभिड विरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार रहेको प्रष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्