काठमाडौं । नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ र जिल्ला समन्वय समिति महासंघले समयमा नै स्थानीय निर्वाचनको मिति तोक्न माग गरेको छ ।
तीनवटै संस्थाका अध्यक्षहरुले संयुक्त वक्तव्य जारी गर्दै नेपाल सरकार र निर्वाचन आयोगसंग समयमा नै स्थानीय तहको निर्वाचनको मिति तोक्न माग गरेको छ ।
तीनवटै संस्थाका अध्यक्षहरुले एक विज्ञप्ती जारी गदै भनेका छन् ‘स्थानीय तहको निर्वाचन ऐन २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७ असार २१ र असोज ७ गते सकिने भएकोले दोश्रो कार्यकालको लागि तत्काल निर्वाचन प्रकृया शुरु गर्न नेपाल सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गर्दछौं ।’
निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमशः २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिदै छ । उक्त कार्यकाल सकिनु भन्दा पहिला नै निर्वाचन भइसक्नु पर्ने संवैधानिक व्यवस्था भएकाले त्यो लागु गर्न माग गरीएको छ ।
वक्तव्यमा आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेको स्मरण गराउँदै समयमा नै आवधिक निर्वाचन होस् र एकदिन पनि स्थानीय सरकार जनप्रतिनिधिविहीन नहोस् भन्ने चाहेको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्