लमजुङ । कोभिड–१९ संक्रमणको जटिलतालगायतको आंकलन गर्दै स्वास्थ्य कार्यालय लमजुङले कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप अभियान सञ्चालन गर्ने भएको छ । यही फागुन १६ गतेदेखि जिल्लाका चारवटा पालिकामा दोस्रो बुस्टर खोप सञ्चालन गरिने भएको हो ।
तेस्रो मात्राको खोप लगाएको ६ महिना पुगेका ५५ वर्ष माथिका नागरिक, स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, गर्भवती, रोगप्रतिरोधक क्षमता कम भएकालाई दोस्रो बुस्टरका रुपमा चौथो मात्राको खोप दिइनेछ । पहिलो चरणमा जिल्लाको बेंसीसहर र सुन्दरबजार नगरपालिका, दोर्दी र मर्स्याङ्दी गाउँपालिकामा खोप अभियान सञ्चालन गरिने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले जानकारी दिए ।
यी पालिकामा खोप अभियान सञ्चालन गर्नका लागि प्रदेश स्वास्थ्य कार्यालयबाट १२ हजार मात्रा वाई भायोलेन्ट खोप आइसेको छ । चारवटा पालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट खोप सञ्चालन गरिने दवाडीले बताए । दोस्रो बुस्टरका रुपमा फाइजर बायोएनटेक खोप बेंसीसहर बजारमा एकहजार ९१ जनालाई लगाईसकिएको स्वास्थ्य कार्यालयले जनाएकोछ । जिल्लामा पहिलो बुस्टर मात्रा ९० हजार ८ सय २३ जनाले लगाएका छन् ।
पहिलो खोप मात्रा १ लाख २३ हजार ३ सय ३ र दोस्रो खोप मात्रा १ लाख १९ हजार ८ सय ६७ जनाले लगाएका थिए । तीन चरणको खोप खोप लगाएपछि बुस्टर भनिन्छ । वाई भायोलेन्ट खोप कोभिडको नयाँ स्ट्रेनविरुद्घ प्रभावकारी रहेको स्वास्थयकर्मीहरुले बताएका छन् । प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्वास्थयकर्मीहरुलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्