काठमाडौं । बाग्लुङका ५२ वर्षका लोकनाथ पौडेलको कलेजोमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि भारत लैजानुपर्ने भएको छ । काठमाडौँका विनायक, बिएण्डबी र वीर अस्पतालमा १ महिनादेखि उपचाररत पौडेलको कलेजोमा गम्भीर समस्या (लिभर सिरोसिस) देखिएको र अन्तिम उपाय भनेको प्रत्यारोपण नै भएकाले यसको नेपालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो ।
शरीरका विभिन्न अंगहरु सुनिने, निरन्तरको थकाई महशुस र अनुहार क्रमिक रुपमा कालो हुँदै गएपछि उपचारका लागि पोखराको मेडिप्लस अस्पतालमा पुगेका पौडेलले पहिलो पटक आफ्नो कलेजोमा गम्भीर समस्या भएको त्यहीँ थाहा पाए । त्यसपछि तत्कालै काठमाडौँ आएर थप उपचार सुरु गरेका पौडेललाई मेडिप्लस, विनायक, बिएण्डबीमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा रिफर गरिएको छ । जसका लागि ठूलो रकम लाग्ने भएकाले परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
पछिल्लो २ महिनाको नियमित उपचारका क्रममा ठूलो रकम खर्च भइसकेकाले र परिवारको आर्थिक अवस्था पनि कमजोर बन्दै गएका कारण आर्थिक सहयोगका लागि अपिल गरिएको पौडेलका जेठा छोरा अजय पौडेलले बताए । अजयका अनुसार भारतमा उपचार गर्दा न्युनतम ५० लाख र भइपरी आउने समस्यामा त्यो भन्दा माथिको लागत लाग्न सक्नेछ । पौडेलको स्वास्थ्य अवस्था बुझ्न भारतको म्याक्स हस्पिटलका प्रतिनिधि काठमाडौँ नै आएर फर्किसकेका छन् ।
पौडेलको परिवारले अहिले थप उपचारका लागि भारत जान म्याक्स हस्पिटलको अप्वाइनमेन्ट कुरिरहेको छ । तर त्यहाँ जानुभन्दा अगाडि चाहिने प्रक्रियागत कागजात जुटिसकेको भए पनिआवश्यक खर्च जुटाउन भने हम्मेहम्मे परेको छ । लोकनाथ पौडेल बचाउ अभियानमा सहभागी हुन चाहनेले ग्लोबल आईएई बैँक, नारायणगढ शाखा (अजय पौडेल, खाता नम्बर ३७५०७०१००००३०५) अथवा (ईसेवा, खल्ती र आइएमई वालेटको नम्बर ९८४३६०६७२९ अजय पौडेल ) मा आर्थिक सहयोग गर्न सकिने अजय पाैडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्