काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गुण एयरलाइन्सको छानबिन गर्न कार्यदल गठन गरेको छ । गुण एयरलाइन्सको जहाजमा प्राविधिक गडबडी भएको घटनाका सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाउनका लागी कार्यदल गठन गरिएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डेले वरिष्ठ उडान सुरक्षा निरीक्षक क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा चार सदस्यीय छानबिन कार्यदल गठन गरिएको जानकारी दिएका छज् । कार्यदलको सदस्यमा पर्यटन मन्त्रालयका इलेक्ट्रोनिक इन्जिनियर नसिव आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका क्याबिन क्रु निरीक्षक सावित्री श्रेष्ठ राई तथा प्राधिकरणकै एरोनोटिकल इन्जिनियर रितेशराज पन्त सदस्यसचिव रहनुभएको छ ।
घटनाको छानविन गरेर अर्को पटक त्यस्ता घटना दोहोरिन नदिनका लागी गर्न पर्ने आवश्यक छलफलका सम्बन्धमा सुझावसहित तीन दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको छ ।
माघ २ गते(आइतबार) काठमाडौँबाट पोखराका लागी उडेको गुण एयरलाइन्सको वायुयानमा प्राविधिक गडबडी भई आकाशमै ढोका खुलेको समाचार आएपछि आज छानविन गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको हो ।
प्रतिक्रिया दिनुहोस्