काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका–का रामप्रवेश चौधरी पक्राउ परेका छन् । घरेलु हिंसामा परेकी नेहा चौधरीको उजुरीले उनका ससुरा रामप्रवेशलाई प्रहरीले पक्राउ गरेको हो ।
२०७८ फाल्गुन २५ मा सामाजिक परम्परा अनुसार विवाह गर्दा आफ्नो माइती तर्फबाट श्रीमान पंकज चौधरीले १ करोडभन्दा बढी दाइजो लिएको नेहाको भनाइ रहेको छ । विवाहपछि काठमाडौंमै घर बनाइदिन दबाब दिएको र माइतीले उनको माग पुरा गर्न नसक्दा यातना दिएर घरेलु हिंसा गरेको भन्दै उनले उजुरी दिएकी थिइन् ।
पंकजले सुरुमा डिभोर्स मुद्दा दर्ता गराएका थिए भने नेहाले श्रीमान् पंकज, ससुरा रामप्रवेश र परिवारका अन्य ४ सदस्यमाथि जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् ।
यसअघि नै पक्राउ परेका पंकजलाई महोत्तरी जिल्ला अदालतले यसअघि नै पुर्पक्षका लागि थुनामा पठाएको छ ।
उनका ससुरा ६० वर्षीय रामप्रवेशलाई महोत्तरी प्रहरीले मनरासिस्वा नगरपालिका २ बाट आइतबार पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्