काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थी र प्रहरीबीच परीक्षा सञ्चालनको विषयमा भएको झडप प्रकरणबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले विद्यार्थीहरुको शिक्षा र स्वास्थ्य सम्बन्धी अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ ।
बुधबार काठमाडौंको बुद्धनगरमा रहेको कान्तिपुर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुले बिएएलबि चौथो वर्षको परीक्षा अनलाईनबाट सञ्चालन हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका थिए । प्रहरीसँग झडप हुँदा एकजना घाइते भएका छन् । ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।
कोरोना संक्रमणको दर बढिरहेको अवस्थामा परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नभएको पाइएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिनुपरेको आयोगले जनाएको छ ।
आयोगको टोलीले गरेको अनुगमनमा कोरोनाको जोखिमलाई ध्यान नदिएको पाइएको र परीक्षाहरु अनलाईन वा अन्य वैकल्पिक माध्यमबाट गर्नुपर्ने माग राखेको पाइएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्