कमलामाई । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अग्र्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैलाई लठ्ठ बनाउने गर्दछ ।
विसं २०७६ चैत २९ गतेदेखि सुरु भएको उक्त होमस्टे कोभिड–१९ को त्रासका कारण दुई वर्ष थलियो । अहिले पुनः पुरानै लयमा फर्किँदैछ । होमस्टेका अध्यक्ष चेतबहादुर थापामगरका अनुसार हालसम्म आन्तरिक र बाह्य गरी दुई सय पर्यटकले यहाँको आतिथ्यता ग्रहण गरिसकेका छन् । एक साँझ बिताउन आएका पर्यटक चार दिनसम्म बसेर जाने गरेका उनले सुनाए ।
जनमैत्री क्यापस भक्तपुरबाट नवराज गुरागाईँको नेतृत्वमा आएको २२ जनाको टोली होमस्टेमा एक साँझ बिताउन चाहन्थ्यो । तर यहाँको आतिथ्यता, वातावरण र प्राकृतिक सौन्र्दयताबाट मोहित भएर चार दिन बसेर फर्कियो । “होमस्टेमा आउने पर्यटक स्थानीय अग्र्यानिक परिकार खान रुचाउँछन् । लोकल कुखुरा, ढिडो, कोदोको सेलरोटी, फापरको फुलाउरा, मकै र भटमास, गुन्द्रुकको अचार, दही, दूध रोजाइमा पर्दछ”, अध्यक्ष थापामगरले भने, “एकपटक आएका पाहुना पटक–पटक आउनुहुन्छ ।”
प्रतिक्रिया दिनुहोस्