काठमाडौं । सरकारले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीलाई झण्डै ५६ लाख रुपैयाँ आर्थिक सहयोग दिने भएको छ ।
आगालागीमा परेर घाइते भएका डा. भण्डारीको उपचारमा सघाउन अर्थमन्त्रालयले उनलाई ५५ लाख ८८ हजार १ सय ६४ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।
डा. भण्डारी फागुन ३ गते राति आफ्नै निवासमा खाना पकाउने ग्यास दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । ग्यास लिक भएर स्पार्क निस्किँदा उनी र उनकी आमा हरिकला घाइते भएका हुन् ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गर्ने क्रममा उनकी आमा हरिकलाको ४ गते बिहान निधन भएको थियो भने डा। चन्द्रकान्तलाई सोही दिन उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगि भर्ना गरिएको थियो ।
डा। भण्डारीको सचिवालयले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको जनाएको छ । सामाजिक सञ्जाल मार्फत दिइएको जनकारी अनुसार उनलाई सामान्य आहार दिन थालिएको छ ।
फागुन ११ गते बसेको मन्पिरिषद्को बैठकले डा। भण्डारीको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम फागुन महिनाको उपचार खर्च निकासा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्