विराटनगर । कोशी प्रदेश नामांकन खारेजीको मागसहित चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू लागेहाङको मृत्यु भएको छ । उपचारका क्रममा उनको मृत्यु भएको हो । टाउकोमा चोट लागेका उनी गत मंगलबार राति उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो ।
लिम्बूको बिहीवार राति २ बजे उपचारको क्रममा मृत्यु भएको पदमका भाइसमेत रहेका मोरङको बेलबारी नगरपालिका–२ का वडा सदस्य दिपेन्द्र खजुम लिम्बुले बताए । विराटनगरको प्रदर्शनमा सशस्त्र प्रहरीले आन्दोलनकारीमाथि निषेधित क्षेत्रनजिक अश्रुग्यास प्रहार गरेको थियो ।
लगत्तै हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठीचार्जमा घाइते लिम्बूको टाउकोमा गम्भीर चोट परेको मृतकका आफन्तले बताएका छन् । उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर हुन् । मञ्च प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको एक प्रमुख घटक हो ।
प्रतिक्रिया दिनुहोस्