काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकबाट पदाधिकारीको निर्वाचन हुने भएको छ । महाधिवेशन सकिएको एक महिनापछि पदाधिकारी चयन हुने भएको छ । यसअघि पटक पटक रोकिएको केन्द्रीय कमिटी बैठक आगामी माघ २७ गतेबाट बस्ने छ ।
शनिबार बसेको पूर्व स्थायी कमिटी र आयोगका अध्यक्षहरु सहितको बैठकपछि अध्यक्ष प्रचण्डले परिपत्र जारी गरेर केन्द्रीय कमिटीको बैठक २७ माघमा बस्ने र सोही बैठकले पदाधिकारीको निर्वाचनसहित पार्टी केन्द्रीय कमिटीलाई पूर्णता दिने जानकारी दिएका छन् ।
पुस ११ देखि १८ मा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट १ सय ४६ जना केन्द्रीय सदस्यमात्र चयन गरेको छ । जब कि माओवादीको केन्द्रीय कमिटी २ सय ९९ को हुने विधानमा उल्लेख छ । महाधिवेशन पछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष बाहेकका पदाधिकारी चयन गर्न पुस २५ र माघ ८ मा बोलाएको केन्द्रीय कमिटी बैठक कोरोनाका कारण स्थगित भएका थिए।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार आन्तरिक परिपत्र जारी गर्दै रोकिएको केन्द्रीय कमिटी बैठक माघ २७ बाट काठमाडौंमा बस्ने र सोही बैठकले पदाधिकारी चयन गर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा सोही मितिमा बस्ने बैठकले केन्द्रीय कमिटीको पूर्णता, पोलिटब्युरो र स्थायी समितिको गठनका साथै पदाधिकारीको निर्वाचन गर्ने उल्लेख छ । प्रचण्डको परिपत्रमा सोही बैठकले केन्द्रीय समितिका सदस्यहरुको कार्यविभिाजनसहित महाधिवेशनले पारित गरेको कार्यदिशा अनुरुप कार्ययोजना निर्माण गर्ने र अन्य आवश्यक निर्णय लिने उल्लेख छ ।
साथै केन्द्रीय समितिको उक्त बैठकबाट अर्को निर्णय नभएसम्मका लागि यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय एवं मोर्चा संगठनहरुको इन्चार्जहरुलाई नै यथावत जिम्मेवारी दिने माओवादीको तयारी छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जारी गरेको परिपत्रमा प्रदेश समितिहरुले प्रदेश समिति र पदाधिकारी निर्वाचनलाई पूर्णता दिने कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रचण्डले आगामी बर्ष २०७९ निर्वाचन वर्ष हुने भन्दै त्यसका निम्ति पार्टी पंक्तिलाई आवश्यक अध्ययन विश्लेषण र योजना निर्माणको कार्यका पहल सुरु गर्न पनि निर्देशन दिएका छन् ।
प्रचण्डले माघ १२ मा हुने राष्ट्रियसभा निर्वाचनमा ५ दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन समन्वयात्मक ढंगले पार्टी नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्