काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा नेपालका सर्वाधिक गोलकर्ता हरि खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खड्काविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै साथ दुईवटा ऐनलाई अघि सारेर आरोपत्र दायर गरेको हो । अख्तियारका अनुसार खड्काले २०५५ सालमा प्रहरी सहायक निरीक्षक (असई) मा खुला प्रतिस्पर्धाबाट जागीर खाँनका लागी आईएको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेर प्रहरीमा जागिर खाएको आरोपमा अदालतले मुद्दा दायर गरेको बताइएको छ ।
भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र २९ र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम अख्तियारले सजायको माग गरेको छ । खड्काले प्रहरीमा जागीर खाँदै गर्दा भ्रष्टाचार निवारण ऐन २०१७ कार्यान्वयनमा थियो तर अहिले भ्रष्टाचार निवारण ऐन २०५९ कार्यान्वयनमा रहेकाले दुवै ऐनलाई अघि सारेर अख्तियारले सजायको माग गरेको हो ।
भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ मा राष्ट्र सेवकको ओहोदाका निमित्त योग्यता, नाम इत्यादी ढाँट्ने व्यक्तिलाई कसुर हेरेर २ वर्षदेखि ६ वर्षसम्म सजाय, जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ भने भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ मा अभियोग पुष्टी भए कसुरको मात्रा हेरेर ६ महिनादेखि एक वर्षसम्म कैद सजाय र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्